काठमाडौं । धनुषाको सबैला नगरपालिका –४ स्थित बल्टिया टोलमा जन्ती चढेको बस ११ हजार भोल्टेजको करेन्ट प्रवाह भएको तारमा छुइन पुग्दा ६ जनाको मृत्यु भएको छ।
घटनामा दुई बालक र स्थानीय एक महिलाको समेत जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय, सबैलाले जनाएको छ।
करेन्टले बसमा छुँदा आगो लागेपछि बेहुलाका दाजुको पनि जलेर मृत्यु भएको छ।
अन्य करिव डेढ दर्जन घाइते भएका छन्। घाइते मध्ये करिव आधा दर्जनको अवस्था गम्भीर रहेको छ। घाइतेहरुलाई उपचारको लागि जनकपुर अञ्चल अस्पतालमा ल्याइएको छ।
सिन्धुलीको दुधौली नगरपालिकाबाट शुक्रबार विहान बल्टियामा जन्ती आएको थियो ।
वैवाहिक कार्यक्रम सम्पन्न भएपछि साँझ करिब सात बजे जन्ती फर्किन लागेको नागरिक न्यूजडटकमले उल्लेख गरेको छ ।
सोही क्रममा बेहुली पक्षबाट कोसेली स्वरुप दिइएको जस्ताको बाकस (बसको छतमाथि राखिएको) मा ११ हजार भोल्टेज रहेको बिजुलीको तारले छोएपछि घटना भएको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरिक्षक अवधलाल यादवले जानकारी दिए।