२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

बम पड्किँदा दुवै खुट्टा गुमाएका यी ब्रिटिश गोर्खा सैनिक सगरमाथा चढ्ने योजनामा

2093 Shares
Spread the love

सानो छँदा न त उनलाई लाहुरे बन्ने रहर थियो, न त उनले पछि आफूले दुवै खुट्टा गुमाउने कुनै कल्पना नै गरेका थिए।

तत्कालीन माओवादी विद्रोह उत्कर्षमा पुग्दै गर्दा आफ्ना बुवाको आग्रह र भर्ती भइसकेका केही साथीहरूको सुझावका आधारमा उनी ब्रिटिश गोर्खा सेनामा भर्ती भए।

सन् १९९९ मा ब्रिटिश गोर्खा सेनामा भर्ती भएका हरिबहादुर बुढा मगर रोल्पामा ३९ वर्षअघि जन्मेका हुन्।

उनी भन्छन्, “अफगानिस्तानमा तालिबानको एम्बुशमा परेर दुवै खुट्टा गुमाएपछि जीवन सकिएजस्तै लाग्यो। तर आँट भए आधा शरीरले पनि ठूला सपना साकार पार्न सकिन्छ।”

“त्यसैले सगरमाथा चढ्न खुट्टाभन्दा आँट महत्त्वपूर्ण हुन्छ,” उनले थपे।

हिम्मत

सन् २०१० मा दुवै खुट्टा गुमाएपछि उनले दुई वर्ष उपचारमा र चार वर्ष पुनर्स्थापना केन्द्रमा बिताए।

‘चरम निराशा’ का बीच उक्त समयमा आफूले चाहेको गर्नसक्ने हिम्मत जुटाएको उनको भनाइ छ।

साहसिक खेलमा समेत रुचि राख्ने उनी भन्छन्, “मैले जीवनमा धेरै साहसिक खेलहरु खेलेँ। धेरै हिमालहरु चढेँ। अबको यात्रा सगरमाथाको हुनेछ विश्वमा नेपाल र नेपालीलाई चिनाउनका लागि।”

उनका अनुसार हालसम्म उनले फ्रान्सको मोँ ब्लाँ, नेपालको मेरापिक, स्कट्ल्यान्डको बेन नेभिसजस्ता हिमालहरू चढिसकेका छन्।

मेरापिक चढेर आफूले कीर्तिमान राखेको उनले बताए।

दुवै खुट्टा नभएका हालसम्म दुई जनाले सगरमाथा चढिसकेका छन्।

चिनियाँ पर्वतारोही सिया बोयूले र न्यूजिल्यान्डका मार्क इङ्ग्लिशले तिब्बती मोहडाबाट सगरमाथाको सफल आरोहण गरेका थिए।

उनीहरू घुँडामुनि खुट्टा नभएका आरोही हुन्।

तयारीका क्रममा हरिबहादुर बुढा मगरतस्वीर कपीराइट Hari Bahadur Budha Magar

गुनासो

उनले भने, “घुँडामाथिबाट नै खुट्टा नभएकामध्ये हालसम्म कसैले सगरमाथा चढ्ने प्रयास नै गरेका छैनन्। त्यसैले म पहिलो प्रयासकर्ता हुनेछु।”

विगतमा सरकारले लगाएको प्रतिबन्धका कारण आफ्नो तयारीमा केही ढिलाइ हुन गएको गुनासो गर्दै उनले आगामी वर्ष सगरमाथा चढ्नेगरी प्रशिक्षण लिएको बताए।

सगरमाथा चढेपछि अपाङ्गताको क्षेत्रमा ‘केही परिवर्तन’ गर्ने उनको चाहना छ।

“सपना मानिसले बीचमै छाड्छन् तर आफ्नो लक्ष्य बीचमै नछाडून्। प्रत्येक मान्छेको आफ्नै सगरमाथाको सपना हुन्छ। म त्यसैलाई पूरा गराउन नै केन्द्रित हुनुपर्छ भनेर प्रेरणा दिलाउन चाहन्छु,” उनले भने।

बुवा पुरै बुढा मगर र स्वर्गीय आमा नौला बुढा मगरका छोराको सगरमाथा चढ्ने सपना भने नौलो होइन।

सपना

प्रशिक्षणका क्रममा हरिबहादुर बुढा मगरतस्वीर कपीराइट Hari Bdr Budha Magar

उनी भन्छन्, “यो मेरो बच्चादेखिको सपना हो। हामीले एड्मन्ड हिलरी र तेन्जिङ नोर्गे शेर्पाको कथा सुन्दा मेरो घरबाट सिस्ने हिमाल देखिन्थ्यो। सानैदेखि हिमालप्रति अगाध माया थियो। र त्यो चढ्न पाउँदा कस्तो हुन्थ्यो होला भन्ने लाग्थ्यो।”

उनी थप्छन्, “बच्चामा सम्भव थिएन र सेनामा जागिर खाँदा छुट्टी पाइएन। अहिले दुइटै खुट्टा नभएपनि सगरमाथा चढ्न सम्भव देखेको छु।”

एघार वर्षमा बिहे गरेका उनले गाउँबाट पहिलोपटक एसएलसी पास गरेको बताउँछन्।

पछि सेनामा काम गर्दा अफगानिस्तानमा भएको घटनामा उनले खुट्टा गुमाए।

“दुई जना इन्जिनियरलाई एउटा पुरानो इनारको सर्भे गराउनु थियो। त्यो मिसनमा उनीहरूको सुरक्षाका लागि म सहायक कमान्डरको रूपमा खटिएको थिएँ। त्यहाँ नपुग्दै पड्कियो अनि मेरो जीवन केही क्षणमै परिवर्तन भयो,” घटना सम्झँदै उनले भने।

“दाहिने खुट्टा थिएन र बायाँ खुट्टा त टुक्राटुक्रा भएको थियो, हड्डी र नसाहरु मात्र देखिन्थे। कानको जाली पनि फुटेको थियो,” उनले भने।

कुलत

प्रारम्भिक चरणमा जीवन कहाँबाट सुरु गर्ने भन्ने पत्तै नभएको बताउने उनी पुनर्स्थापना केन्द्रमा बस्दा कुलतमा समेत फसे।

“मेरो भावना र दुखाइलाई कम गर्न म हरेक साँझ निकै रक्सी पिउन थालेँ। म रक्सीबिना बाँच्न सक्दिनथेँ,” उनले भने।

“तर जब स्काईडाइभिङ गरेर सफल अवतरण गरेँ, तब आधा ज्यानको महत्त्व बुझेँ। जिन्दगीलाई समयानुसार अनुकूल बनाउँदै लैजानुपर्ने रहेछ। असम्भव केही छैन जे पनि गर्न सकिँदो रहेछ भन्ने चेत आयो।”

त्यतिबेला गाउँमा साधारण जागिर खाने वातावरण भइदिएको भए सायदै भर्ती हुने उनको भनाइ छ।

“मलाई कुनै पश्चाताप छैन। म त्यो आक्रमणमा नपरेको भए अरू नै कोही नै पर्दथ्यो। अब अघि बढ्नुको विकल्प छैन।”

“मैले १५ वर्ष र दुईवटा खुट्टा ब्रिटिश सरकारका लागि दिएँ र अबको बाँकी समय नेपाललाई दिऊँ भनेर प्रयास गरिरहेको छु।”

राजकुमार ह्यारीसँगको सम्बन्ध

हरिबहादुर बुढा मगरतस्वीर कपीराइट Courtesy: Hari Bahadur Budha Magar

केही वर्षअघि अफगानिस्तानमा गोर्खा पल्टनसँगै खटिएका राजकुमार ह्यारीसँग आफूले सँगै काम गर्न नपाएपनि उनले आफूसँगको भेटमा सगरमाथाको सफल आरोहणका शुभकामना व्यक्त गरेको बताए।

“म सगरमाथा चढ्ने खबर सुनेर उहाँले खुसी व्यक्त गर्नुभएको छ र आफूले आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभएको छ,” उनले भने।

त्यसका अतिरिक्त ह्यारीले थालेको ‘इन्भिक्टस गेम्स’मा ब्रिटेन र अमेरिकासहित विभिन्न देशका शारीरिक अपाङ्गता भएका सैनिकले भाग लिन्छन्।

हरिबहादुर बुढा मगर पनि त्यसमा नेपालका घाइते सैनिकलाई समेत उक्त प्रतियोगितामा सहभागिता गराउने बारेमा प्रयास भएको उनको भनाइ छ।

हलिउड नायक टम हार्डीले पनि आफूलाई सहयोग गरिरहेको उनले बताए।

बिबिसीबाट

प्रतिक्रिया