काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले लाभांश प्रस्तावसहित विभिन्न विषयमा छलफल र निर्णय गर्न मंसिर २३ गते बुधबार आफ्नो ४० औँ वार्षिक साधारण सभा बोलाएको छ । सभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजे सुरु हुनेछ।
सभामा बैंकले शेयरधनीलाई प्रतिकित्ता १६ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने भएको छ। बैंकको कात्तिक २७ गते बसेको सञ्चालक समितिको ४९५औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाउने निर्णय गरेको हो।
सभामा सञ्चालक समितिको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पेस हुनेछ। त्यस्तै लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को वार्षिक वित्तीय विवरण पनि छलफलपछि पारित गरिनेछ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार प्रतिशेयर १६ रुपैयाँ (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्तावलाई स्वीकृति दिनेछ। यसका साथै आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ।
त्यस्तै सर्वसाधारण शेयरधनीको तर्फबाट बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचनसमेत सभाको कार्यसूचीमा राखिएको छ ।
बैंकले साधारण सभा तथा नगद लाभांश वितरण प्रयोजनका लागि मंसिर १० गते शेयर दाखिल खारेज गर्ने जनाएको छ । बुकक्लोज अनुसार मंसिर ९ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा शेयर कारोबार भई कायम रहेका शेयरधनीले मात्र साधारण सभामा सहभागी हुन, मतदान गर्न र प्रस्तावित नगद लाभांश प्राप्त गर्न सक्नेछन् ।