काठमाडौं । इराक र जोर्डनले सोमबार टेलिग्राममाथि प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। दुवै देशले सुरक्षा चिन्ता र अतिवादी सामग्री फैलाउनका लागि यस मेसेजिङ एपको प्रयोगलाई यसको कारण बताएका छन्।
जोर्डनको सार्वजनिक सुरक्षा निर्देशनालयका अनुसार डिजिटल सुरक्षालाई बलियो बनाउन र साइबर अपराध, धम्की, जबरजस्ती असुली तथा अवैध सामग्रीको प्रवर्द्धनसँग जुध्न यो निर्णय लिइएको हो।
बिबिसी पर्सियनबाट प्राप्त जानकारीअनुसार जोर्डनका अधिकारीहरूले अतिवादको प्रसार र राष्ट्रिय सुरक्षामा हुने खतराहरूलाई रोक्ने विषयलाई समेत उद्धृत गरेका छन्।
त्यस्तै, इराकको सञ्चार तथा मिडिया आयोगले प्रधानमन्त्री अली जैदीको निर्णयअन्तर्गत टेलिग्राममाथि प्रतिबन्ध लगाइएको जनाएको छ। आयोगका अनुसार यसको उद्देश्य अतिवाद, हिंसा र घृणा फैलाउनका लागि सामाजिक सञ्जालको दुरुपयोग रोक्नु हो।
टेलिग्रामलाई आफ्नो कामकाज इराकी कानुन र नियमअनुसार ढाल्नका लागि ३० दिनको समय दिइएको छ। यो निर्णय इराकी प्रधानमन्त्री र इरान समर्थित एक शक्तिशाली सशस्त्र समूहबीच बढ्दो तनावका बीच आएको हो।
यस समूहसँग आबद्ध व्यक्तिहरूले टेलिग्रामको सक्रिय रूपमा प्रयोग गर्दछन्। इराकमा सरकारी संस्था, सञ्चार माध्यम र सशस्त्र समूहहरूले समेत यस एपको व्यापक प्रयोग गर्ने गर्दछन्।