२०८३, १७ बैशाख बिहीबार
×

ट्रेन्डिङ

पाकिस्तानकी पूर्वप्रधानमन्त्री भुट्टोका हत्यारा भिडियोमा देखिए

1977 Shares
Spread the love

बीबीसी । पाकिस्तानकी पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोको हत्या गराएको समूहमा संलग्न रहेको आरोप लागेका र सर्वाधिक खोजी गरिएका एक जना लडाकु एउटा भिडियोमार्फत् सार्वजनिक भएका छन्।

पाकिस्तानी तालिबान विद्रोहीहरूको एउटा समूहले बनाएको सो भिडियोमा इक्रामुल्लाहले भुट्टोको हत्यामा आफू प्रत्यक्ष वा परोक्ष कुनै किसिमले पनि संलग्न नभएको दाबी गरेका छन्।

भुट्टोको हत्या गर्न नियोजित आक्रमण सफल नभएको भए अर्को आत्मघाती आक्रमण गर्ने वैकल्पिक योजना सहित इक्रामुल्लाहले परिचालित भएको बताइन्छ।

तर अर्का आत्मघाती आक्रमणकारीले विस्फोट गराएपछि उनी त्यहाँबाट भागेको अधिकारीहरूको दाबी छ।

सन् २००७ मा रावलपिन्डीमा आयोजित एउटा चुनावी र्‍यालीमा गराइएको सो विस्फोटमा तत्कालीन प्रधानमन्त्री भुट्टो र अरू २० जना मारिएका थिए। भुट्टोका एक जना वरिष्ठ सहयोगीले इक्रामुल्लाहले ढाँटेको बताएका छन्।

भुट्टो हत्याकाण्डबारे आफ्नो पहिलो सार्वजनिक भनाइ राख्न इक्रामुल्लाह पाकिस्तानी तालिबानबाट चोइटिएको एउटा समूहले बनाएको सो भिडियोमा देखा परेका हुन्।

लडाकुहरूको आधार रहेको पूर्वी अफगानिस्तानमा खिचिएको जस्तो देखिने उक्त भिडियो बीबीसीले हात पारेको छ।

आफ्नो समूहका वरिष्ठ नेताका रूपमा वर्णित इक्रामुल्लाहले भुट्टोको हत्या योजनामा आफू संलग्न पनि नरहेको र त्यसबारे आफूलाई थाहा पनि नभएको कुरा भिडियोमा पटकपटक भनेका छन्।

इक्रामुल्लाह पाकिस्तानमा सर्वाधिक खोजी भएका सन्दिग्ध आतङ्कवादीहरूको सूचीमा छन्। भुट्टोको हत्याको मुद्दामा उनको नाम दोस्रो आत्मघाती आक्रमणकारीका रूपमा अदालतमा प्रस्तुत गरिएको छ।

भुट्टोका नजिकका साथी तथा आन्तरिक मामिलामन्त्री रहिसकेका सांसद रहमान मल्लिकले इक्रामुल्लाहले पूरै ढाँटेको बीबीसीलाई बताए।

प्रतिक्रिया