२०८३, ३ कार्तिक सोमबार
×

बेलायतमा नेपाली बाबुछोराको करातेमा चमक, विश्व च्याम्पियनसिपमा तीन रजत पदक

0 Shares

लन्डन । बेलायतमा आयोजित चौथो विश्व कराते च्याम्पियनसिप २०२६ मा नेपाली बाबुछोरा एड्रियन क्षेत्री र ज्ञानेन्द्र क्षेत्रीले उत्कृष्ट प्रदर्शन गर्दै तीन रजत पदक जितेका छन्।

वर्ल्ड युनियन अफ मार्सल आर्ट्स फेडेरेसनले अक्टोबर ९ देखि ११ सम्म इंग्ल्यान्डको क्राउलीस्थित केटु एरिनामा आयोजना गरेको प्रतियोगितामा १३ वर्षीय एड्रियन र उनका ५२ वर्षीय पिता ज्ञानेन्द्रले व्यक्तिगत विधासँगै पारिवारिक प्रतिस्पर्धामा पनि पदक जितेका हुन्।

प्रतियोगितामा एड्रियनले १५ वर्षमुनिको समूहमा र ज्ञानेन्द्रले ६० वर्षमुनिको समूहमा रजत पदक जिते। त्यसैगरी, बाबुछोराले संयुक्त रूपमा प्रतिस्पर्धा गरेको ‘फेमिली काता ओपन वान’ विधामा पनि अर्को रजत पदक हात पारे। आयोजकका अनुसार प्रतियोगितामा १७२ देशका खेलाडी सहभागी थिए।

लन्डनको क्वीन्सबरीस्थित क्यानन हाई स्कुलमा कक्षा ९ मा अध्ययनरत एड्रियनले करातेमा निरन्तर सफलता हासिल गर्दै आएका छन्। उनले गत वर्ष १५ वर्षमुनिको समूहमा स्वर्ण पदक जितेका थिए। यसअघि १० वर्षमुनिको समूह तथा सन् २०२४ को ईयू च्याम्पियनसिपमा १५ वर्षमुनिको विधामा पनि उनले पदक जितेका थिए।

लन्डनको बार्नेटमा जन्मिएका एड्रियन पाँच वर्षको उमेरदेखि सन् २०१७ मा कराते प्रशिक्षणमा आबद्ध भएका थिए। ब्ल्याक बेल्ट प्राप्त उनी जुनियर प्रशिक्षकका रूपमा समेत सक्रिय छन्।

छोरालाई प्रशिक्षणमा पुर्‍याउँदा आफैँ खेलाडी बने

काठमाडौंको गोकर्ण स्थायी घर भएका ज्ञानेन्द्र क्षेत्री बेलायतको ‘ट्रान्सपोर्ट फर लन्डन’ मा विगत २४ वर्षदेखि वरिष्ठ इन्जिनियरका रूपमा कार्यरत छन्। छोरालाई कराते सिकाउन लैजाने क्रममा आफू पनि यस खेलप्रति आकर्षित भएको उनी बताउँछन्।

ब्ल्याक बेल्ट प्राप्त ज्ञानेन्द्रले यसअघि ५० वर्षमुनिको समूहमा स्वर्ण पदक जितिसकेका छन्। उनी वरिष्ठ प्रशिक्षकका रूपमा पनि सक्रिय छन्। प्रशिक्षणसँगै करातेको डान ग्रेडिङ र आधिकारिक प्रमाणपत्र प्रदान गर्ने जिम्मेवारीसमेत उनले सम्हाल्दै आएका छन्। आगामी महिना निर्णायक तथा प्रशिक्षकको ‘सी’ लाइसेन्स लिने तयारीमा रहेको उनले बताए।

बाबुछोरा सोमबारदेखि बिहीबारसम्म साँझ ६ देखि ८ बजेसम्म कराते प्रशिक्षणमा व्यस्त रहन्छन्। उमेर खेलकुदमा बाधक नहुने बताउने ज्ञानेन्द्र अवकाशपछि पनि प्रशिक्षकका रूपमा करातेमै समर्पित हुने योजनामा छन्। स्वस्थ रहन नियमित शारीरिक अभ्यास आवश्यक रहेको भन्दै उनले सबैलाई खेलकुदमा सहभागी हुन सुझाव दिएका छन्।

खेलकुदसँगै गीतसंगीतमा पनि सक्रिय

इन्जिनियर तथा कराते प्रशिक्षक ज्ञानेन्द्र गीतकारसमेत हुन्। उनको शब्द रचना तथा तिलक बस्नेत र बन्दना पाण्डेको स्वरमा सार्वजनिक भएको ‘पैसा पैसा’ गीत तथा म्युजिक भिडियो लोकप्रिय भएको थियो। त्यसैगरी, माया र प्रेमलाई संस्कार तथा प्रकृतिसँग जोडेर लेखिएको उनको अर्को गीत ‘पीर नगर निरमाया’ को म्युजिक भिडियोले पनि युट्युबमा लाखौँ दर्शकको ध्यान खिचेको छ।

विश्व च्याम्पियनसिपमा बाबुछोराले हासिल गरेको सफलताले बेलायतमा नेपाली खेलाडीहरूको सक्रियता र पारिवारिक रूपमा खेलकुदमा सहभागी हुने प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ।

प्रतिक्रिया