तेहरान। इरान ले फारस खाडी र ओमान सागर क्षेत्रका बन्दरगाहसम्बन्धी कडा चेतावनी दिएको छ। इरानी सेनाले स्पष्ट रूपमा भनेको छ—बन्दरगाह “या त सबैका लागि खुला हुने, नत्र कसैका लागि पनि नहुने।”
इरानले होर्मुज जलडमरू को सुरक्षा निरन्तर सुनिश्चित गरिने बताउँदै ‘शत्रुसँग सम्बन्धित’ जहाजलाई त्यहाँबाट गुड्न नदिने चेतावनी दिएको छ। अन्य जहाजलाई भने इरानका नियमअनुसार आवतजावत गर्न अनुमति दिइने जनाएको छ।
स्थायी नियन्त्रणको संकेत
इरानले युद्ध समाप्त भएपछि समेत होर्मुज स्ट्रेटमा स्थायी नियन्त्रण संयन्त्र लागू गर्ने घोषणा गरेको छ, जसले क्षेत्रीय तनाव अझ बढ्ने संकेत दिएको छ।
साथै, संयुक्त राज्य अमेरिका माथि अन्तर्राष्ट्रिय जलमार्गमा अवरोध सिर्जना गरेको आरोप लगाउँदै इरानले त्यसलाई “समुद्री डकैती”को संज्ञा दिएको छ।
बेलायतको अलग निर्णय
यसैबीच बेलायत ले अमेरिकाले प्रस्ताव गरेको नाकाबन्दी अभियानमा सहभागी नहुने निर्णय गरेको छ। रिपोर्टअनुसार बेलायती नौसेना यस अभियानमा प्रत्यक्ष रूपमा संलग्न हुने छैन।
तर बेलायतले आफ्ना माइन्स्विपर जहाज र एन्टी–ड्रोन प्रणालीलाई क्षेत्रमा सक्रिय राख्ने जनाएको छ।
यूके सरकारका प्रवक्ताले होर्मुज स्ट्रेट खुला रहनु अत्यावश्यक रहेको उल्लेख गर्दै समुद्री मार्गको स्वतन्त्रतामा जोड दिएका छन्। उनका अनुसार यो जलमार्ग खुला रहनुले विश्व अर्थतन्त्र र महँगी नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्छ।