काठमाडौं।इजरायल र लेबनानस्थित हिज्बुल्लाह बीचको द्वन्द्व झन् चर्किएको छ। इजरायलले लेबनानका विभिन्न क्षेत्रमा हवाई आक्रमण तीव्र बनाएपछि हिज्बुल्लाहले पनि मिसाइल प्रहार गर्दै प्रत्युत्तर दिएको छ।
इजरायली वायुसेनाले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै लेबनानमा रहेका हिज्बुल्लाहका ‘आतंकवादी ठिकाना’ र मिसाइल प्रक्षेपण स्थललाई लक्षित गरी आक्रमण गरिएको जनाएको छ।
दक्षिण लेबनानमा व्यापक क्षति
दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा भएको आक्रमणपछि अवस्था झन् तनावपूर्ण बनेको छ। एक गाउँ पूर्ण रूपमा ध्वस्त भएको र घरहरू भग्नावशेषमा परिणत भएको तस्वीरहरू सार्वजनिक भएका छन्।
लेबनानका सरकारी सञ्चारमाध्यमका अनुसार अन्य शहरहरूमा पनि इजरायली लडाकु विमानले आक्रमण गर्दा सर्वसाधारण घाइते भएका छन् र धेरै घरमा क्षति पुगेको छ।
हिज्बुल्लाहको जबाफी हमला
हिज्बुल्लाहले उत्तरी इजरायलतर्फ रकेट प्रहार गरेको पुष्टि गरेको छ। समूहसँग सम्बन्धित अल–मनार का अनुसार हाइफा शहरलाई ‘उन्नत मिसाइल’मार्फत निशाना बनाइएको हो।
हिज्बुल्लाहले आफूहरूले युद्धविरामको पालना गरेको दाबी गर्दै इजरायलले उल्लंघन गरेपछि जबाफी कदम चालिएको जनाएको छ। साथै, बिंत जबैल क्षेत्रमा इजरायली सैनिकहरूलाई लक्षित गरी आक्रमण गरिएको दाबी गरिएको छ, यद्यपि यसबारे इजरायली पक्षबाट औपचारिक प्रतिक्रिया आएको छैन।
आपतकालीन प्रतिक्रिया र बढ्दो तनाव
इजरायलको आपतकालीन सेवाले उत्तरी क्षेत्रमा भएको आक्रमणको जवाफ दिइरहेको जनाएको छ।