२०८२, ११ चैत्र बुधबार
×

ट्रेन्डिङ

हर्मुज जलमार्गमा इरानको नयाँ नियम लागू: अब जहाज प्रवेशका लागि यस्ता छन् सर्त

0 Shares
Spread the love

न्यूयोर्क : संयुक्त राष्ट्र संघका लागि इरानी नियोगले विश्वकै महत्त्वपूर्ण व्यापारिक मार्ग ‘हर्मुज जलडमरू’ बाट व्यावसायिक जहाजहरूको आवतजावतका लागि नयाँ सर्तहरू सार्वजनिक गरेको छ। इरानका अनुसार, अबदेखि ‘गैर-शत्रुतापूर्ण’ जहाजहरूलाई मात्र यस मार्गबाट प्रवेश अनुमति दिइनेछ, तर त्यसका लागि इरानी अधिकारीहरूसँग पूर्व-समन्वय अनिवार्य गरिएको बिबिसीले उल्लेख गरेकाे छ।

इरानी नियोगले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जारी गरेको सन्देशमा भनिएको छ : जहाजहरू इरानविरुद्धको कुनै पनि आक्रामक गतिविधिमा संलग्न हुनु हुँदैन। इरानद्वारा घोषित सुरक्षा र बचाउ सम्बन्धी नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ। जहाजहरूले इरानी अधिकारीहरूसँग समन्वय गरी अनुमति लिनुपर्नेछ।

पछिल्ला केही दिनयता विभिन्न देश र कम्पनीहरूले आफ्ना जहाजहरूको सुरक्षित यात्राका लागि इरानसँग गोप्य रूपमा वार्ता गरिरहेका थिए। इरानको यो औपचारिक घोषणाले सोही अभ्यासलाई आधिकारिकता दिएको छ।

नेभिगेसन मार्गमा परिवर्तन

यस महिनाको सुरुदेखि चीन, भारत र पाकिस्तानका जहाजहरू सफलतापूर्वक हर्मुज जलडमरू पार गरिसकेका छन्। रोचक कुरा के छ भने, जहाजहरूले ओमान नजिकै रहेका दुईवटा साँघुरा ‘ट्रान्जिट कोरिडोर’ प्रयोग गर्नुको साटो उत्तरतर्फको मार्ग प्रयोग गरिरहेका छन्।

जहाजहरू’लारक टापुु’को उत्तरमा रहेको इरानी क्षेत्रीय जलक्षेत्र हुँदै अघि बढिरहेका छन्। यसले गर्दा इरानी अधिकारीहरूलाई त्यहाँको ट्राफिकमाथि पूर्ण निगरानी र नियन्त्रण राख्न सजिलो भएको छ।

ह्वाइट हाउसको १५-बुँदे शान्ति प्रस्ताव

अमेरिकी र इजरायली सञ्चारमाध्यमका अनुसार, ह्वाइट हाउसले पाकिस्तानमार्फत इरानलाई १५-बुँदे शान्ति योजना पठाएको छ। उक्त योजनामा ‘हर्मुज जलडमरू’मा स्वतन्त्र जहाज चलाउन पाउनुपर्ने विषयलाई प्रमुखताका साथ उठाइएको छ।

यद्यपि, कुनै औपचारिक सम्झौता नभएसम्म इरानले यो रणनीतिक जलमार्गमा आफ्नो नियन्त्रण कायमै राख्ने स्पष्ट संकेत दिएको छ। विश्वको तेल आपूर्तिमा यो जलमार्गको भूमिका अत्यन्तै महत्वपूर्ण मानिन्छ।

प्रतिक्रिया