२०८३, ५ बैशाख शनिबार
×

ट्रेन्डिङ

के नेपाली कांग्रेस पार्टी फुट्छ त?

0 Shares
Spread the love

काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आइतवार र सोमवारका लागि आयोजना गरिएको पार्टीको विशेष महाधिवेशन रोक्न गरेको प्रस्ताव पार्टीका महामन्त्री गगन थापाले अस्वीकार गरेका छन्।
पार्टी महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले बुधवार विशेष महाधिवेशन आह्वान गरेपछि पार्टीको संस्थापन पक्षले त्यसमा सहभागी नहुन प्रतिनिधिहरूलाई अपील गरिरहेको छ। उक्त विवाद चर्कँदै गर्दा आज बसेको कार्यसम्पादन समितिको बैठकमा समाधानतर्फ कुनै निकास निस्किएन।

कार्यवाहक सभापति पूर्वबहादुर खड्काले विशेष महाधिवेशनले पार्टी विभाजन हुन सक्ने भन्दै हस्ताक्षर फिर्ता लिन लगाउने प्रस्ताव अघि सारे पनि महामन्त्री गगन थापाले पुस २७ गतेको आयोजना भएरै छाड्ने बताए।

बैठकपछि पत्रकारहरूसँग बोल्दै थापाले भने, “अहिले पनि हामी अपेक्षा गर्छौँ पार्टी सभापतिजी २७ गते पार्टीकै साथीहरूले गरेको आयोजना हो, विधानसम्मत आयोजना हो, त्यो अधिवेशनमा उहाँ उपस्थित हुनुपर्छ। त्यो कुराले उहाँको पनि मान बढाउँछ।”
उता परदेशबाट नेपाली जनसम्पर्क समिती बेलायतका उपसभापति असल लिम्बुले कांग्रेस विभाजनको सङ्घारमा आइपुगेकोमा चिन्ता व्यक्त गरेका छन्।

के पार्टी फुट्छ त?

दुवै पक्षले आफ्नो पार्टी नफुट्ने दाबी गरेका छन्।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको विज्ञप्तिको अन्त्यमा भनिएको छ, “जस्तोसुकै कठिन अवस्थामा पनि पार्टीलाई एकढिक्का राख्न हामी कटिबद्ध एवं प्रतिबद्ध छौँ।”

पार्टी प्रवक्ता प्रकाशशरण महतले पनि विशेष महाधिवेशन पक्षधरहरूले नै यो कार्यक्रम पार्टी विभाजनका लागि नभएको बताएकाले आफूले पनि “पत्याएको” बताए।

तर उनले थपे, “अब उहाँहरूको मनमा के छ, त्यो त उहाँहरूलाई नै बढी थाहा हुने भयो।”

विशेष महाधिवेशनको पक्षमा देखिएका केन्द्रीय सदस्य प्रकाश रसाइलीले पनि पार्टीलाई विघटन वा विभाजनबाट जोगाउने आफ्नो “बटमलाइन” नै रहेको भन्दै आफूले विभाजन नचाहेको बताए।

आफूहरूसँग महाधिवेशन प्रतिनिधिको बहुमत रहेको दाबी गर्दै उनले “बहुमतले कहिल्यै पनि पार्टी नफुटाउने” दाबी गरे।

प्रतिक्रिया