काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनले पार्टी विभाजन नहुने महामन्त्री विश्वप्रकाश शर्माले दाबी गरेका छन्। काठमाडौंमा पुस २७ र २८ गते आह्वान गरिएको विशेष महाधिवेशनबाट पार्टी विभाजन हुने अवस्था आए सबैभन्दा पहिलो आफू हलबाट बाहिरिने शर्माले घोषणा गरेका हुन्।
‘विशेष महाधिवेशन हुन्छ, पार्टी विभाजित हुँदैन, त्यस्तो हुन लागे अधिवेशनको हलबाट सबभन्दा पहिला विश्वप्रकाश शर्मा बाहिर निक्लनेछ। अनि सबै सँगै निक्लौंला । पार्टीलाई विभाजन हुनबाट जोगाउँला ।’ उनले भने,‘विधानमा भएको व्यवस्थाको कार्यान्वयन गर्नु भनेको पार्टीको विभाजन गर्नु होइन, बरु पार्टीको विधानको रक्षा गर्नु हो।’
शर्माले आन्तरिक एकतालाई सुदृढ बनाउने कार्य गरेर पार्टीभित्र नवीन आत्मविश्वास भर्नुपर्ने बताए। ‘नेपाली काँग्रेसको पहिलो विशेष महाधिवेशनले नेपाली काँग्रेसलाई त्यो समयको सहि मार्गमा सहि ढंगले अघि बढ्न दूरदृष्टि र दृढ इच्छाशक्ति दिएको थियो। दोस्रो विशेष महाधिवेशन भिन्न राष्ट्रिय परिस्थिति र भिन्न आन्तरिक अवस्थाका बिचमा भइरहेको छ।’ महामन्त्री शर्माले फेसबुकमार्फत भनेका छन्,‘यो संवेदनशील घडिमा हामीले एकातर्फ आन्तरिक एकतालाई सुदृढ बनाउने कार्य गरेर पार्टीभित्र नवीन आत्मविश्वास भर्नुछ। अर्कोतर्फ आजको नेपाल र अबको नेपालका बारे सुझबुझपुर्ण दृष्टि, योजना र संकल्प अघि सारेर मुलुकको विश्वास जित्न नयाँ ढंगले अघि बढ्नु परेको छ।’
अहिलेको नेपाल भदौ २३ अगाडिको नेपाल नभएको बताउँदै महामन्त्री शर्माले समय, परिस्थिति, हाम्रो चुनौती र दायित्व सबै बदलिएको टिप्पणी गरे। केही नयाँ संकल्प लिनुपर्ने बताउँदै उनले भने, ‘विशेष परिस्थिति, विशेष निर्णय, विशेष महाधिवेशन !’
विशेष महाधिवेशन माग गरिरहँदा हस्ताक्षर गरेकाको मात्रै विशेष महाधिवेशन नभएकालेले महाधिवेशन प्रतिनिधि जोकोही साथी सहभागी बन्न सक्ने उनको भनाई छ।
विशेष महाधिवेशनतिर लागेपछि माघ ६ को उम्मेदवारी दर्ता र फागुन २१ को चुनावलाई असर नपर्ने बताउँदै
शर्माले भने, मुर्झाएर बसेको कांग्रेसभन्दा जुर्मुराएर मैदानमा जुट्ने काँग्रेसले बढी परिणाम दिन्छ। विशेष महाधिवेशनमा जुटौं , यसलाई भव्यतापूर्वक सम्पन्न गरौं l अनि माघ ६ गते उम्मेदवारी दर्तामा पनि सबै पुगौंला। अनि एक ढिक्का भएर फागुन २१ को निर्वाचनको सामना पनि गरौंला ।
उनले बम बिस्फोटन ठूलो स्वरमा हुने र विचारको प्रस्फुटन मधुर हुने स्पष्ट पारे।