काठमाडौं। सोमबार म्याग्दी पुगेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले मगलबार बिहान म्याग्दीका विभिन्न स्थलहरुको अवलोकन भ्रमण गरेका छन्। मगलबार बिहान अध्यक्षले पर्वत जिल्लाको मल्लाद डाँडामा गएर म्याग्दीको सदरमुकाम बेनीको अवलोकन गरे।
त्यसैगरी उनले कालीगण्डकीले कटान गरेको बेनी बजारको तडबन्धको निरिक्षण पनि गरे। त्यसैगरी ४० मेगावाट क्षमताको निर्माणाधीन रहुघाट जलविद्युत आयोजनाको निरिक्षण गरे। अध्यक्षले बिहान कालीगण्डकी कोरीडोरेको अवलोकन गरे भने म्याग्दीको सबैभन्दा ठूलो धार्मिक पर्यटकीय स्थल गलेश्वर धामको पनि अवलोकन गरेका थिए।
अध्यक्ष प्रचण्ड मगलबार बिहान ९ः३० बजे तातोपानी कुण्डमा स्नानका लागि गए। अध्यक्ष प्रचण्ड जीवन संगिनी सीता दाहालको उपचारको सिलसिलामा तातोपानी स्नानका लागि म्याग्दी पुगेका हुन्। प्राकृतिक चिकित्सालयको रुपमा प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्दा छाला, नशा, ग्याष्ट्रिक, बाथ लगायत रोगका बिरामीलाई फाइदा पुग्ने बताइन्छ।
तीन दिन तातोपानीमा स्नान गरेपछि अध्यक्षसहितको टोली भोलि साँझ राजधानी फर्कनेछ। राजधानी फर्कनु अघि भोलि अध्यक्ष प्रचण्डले स्थानीय पार्टी कार्यकर्ता, उद्योग व्यवसायी र अन्त्यमा संचारकर्मीहरुसँग भेटघाट र छलफल गर्ने उनकाे सचिवालयले जनाएकाे छ।