लन्डन (जीएनएन) – ब्रिटिश महारानी एलिजाबेथ द्वितीयले सत्तारुढ कन्जरभेटिभ पार्टीकी नयाँ नेता मेरी एलिजाबेथ ट्रस (लिज ट्रस) लाई बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त गरेकी छिन्।
मंगलबार स्कटल्याण्डको बाल्मोरल क्यासलमा दर्शन भेट पछि महारानीले लिज ट्रसलाई प्रधानमंत्री पदमा नियुक्त गरेकी हुन्। मार्गरेट थ्याचर र टरिजा मे पछि ब्रिटेनको प्रधानमंत्री हुने ट्रस तेश्रो महिला हुन्। यस अघि प्रधानमन्त्री बोरिस जोनसनले ब्रिटिश महारानी समक्ष आफ्नो पदबाट राजीनामा दिएका थिए।
सत्तारुढ दलको नयाँ नेता
सत्तारुढ कन्जरभेटिभ पार्टीका १४१,००० भन्दा बढी सदस्य तथा सांसदहरुले गरेको मतदानबाट लिज ट्रस दलको नेता छनोट भएकी हुन्।
कोभिडको प्रतिबन्ध लागेको बेला आफ्नो सरकारी निवासमा पार्टी गरेको भनेर आलोचना खेपेका प्रधानमंत्री बोरिस जोनसनले गत जुलाई महिनामा पदबाट राजीनामा दिने घोषणा गरेका थिए।
लिज ट्रसले खसेको मतको ५७ प्रतिशत मत पाएकी थिइन् भने पूर्व अर्थ मंत्री ऋषि सुनकले ४२ प्रतिशत मत पाएका थिए । सोमबार अपरान्ह लन्डन वेस्टमिन्स्टरमा उक्त घोषणा गरिएको थियो। उक्त घोषणा पछि बोल्दै ट्रसले आफुले उर्जाको बढ्दो मूल्यसंग जुध्न र राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा सुधार गर्ने कामलाइ प्राथमिकता दिने बताइन्।
बेलायतको अक्सफोर्डमा जन्मिएकी ४७ वर्षीय ट्रसले अक्सफोर्ड विश्व विद्यालयबाट स्नातक अध्ययन पुरा गरेकी छन्। उनी सन् २०१० मा पहिलो पटक ब्रिटिश संसद, हाउस अफ कमन्स, मा निर्वाचित भएकी थिइन्।
उनले शिक्षा, वातावरण, अन्तर्राष्ट्रिय व्यापार तथा परराष्ट्र मंत्रीको रुपमा काम गरि सकेकी छिन् ।
‘महंगी अरु बढ्न सक्ने’
नवनियुक्त प्रधानमन्त्री ट्रसले करका दरहरु नबढाउने बरु कर कटौती गर्ने जनाएकी छन्। तर त्यसले गर्दा महंगी अरु बढ्न सक्ने जानकारहरु बताउँछन्।
‘कर कटौती गरे पछि बजारमा पैसा बढी आउँछ, तर सामानहरु नपाउँदा महंगी अरु बढ्न सक्छ,’ जीएनएनसंग कुरा गर्दै लण्डनमा बसोबास गर्ने एकजना आर्थिक विश्लेषक विकल चन्द्र आचार्यले भने। ‘कोभिडको समयमा ब्रिटेनको केन्द्रीय बैंकले ‘क्वान्टिटेटिभ इजिङ्ग’ (धेरै पैसा छापेर बजारमा पठाउने काम) गरेको थियो।
त्यसले पनि महंगी बढाएको हो। ‘ बेलायतमा अहिले महंगी झन्डै ११ प्रतिशत ले बढेको छ, जुन जी-७ मुलुकहरु मध्ये सबै भन्दा बढी हो। रुस-युक्रेन युद्धका कारण उर्जाको मूल्य बढेकाले महंगी २० प्रतिशत नाघ्न सक्ने अनुमान गरिएको छ।
‘केन्द्रीय बैंकले व्याजदर बढाउंदै लगेको छ जसले गर्दा मोर्गेज (घर किन्न ऋण लिए वापत बैंकलाइ तिर्नु पर्ने मासिक किस्ता) बढ्दै गएको छ। ब्रिटेनमा श्रमिकहरुको अभाव छ, पौण्डको मूल्य घटी रहेको छ र ब्रेक्जिटका नकारात्मक असरहरु पनि देखिएका छन्। त्यसैले आगामी दिनहरु ब्रिटिश जनताका लागि कठिन हुने देखिन्छन्,’ आचार्यले भने।
टेन डाउनिंग स्ट्रीटमा मंगलबार बिहान एक वक्तव्य दिंदै राजीनामा गरेका प्रधानमन्त्री जोनसनले आफ्नो सरकारले गरेका कामहरुको बचाउ गरेका थिए।