बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रूसी आक्रमण सामना गरिरहेको युक्रेनको राजधानी किएभको भ्रमण गरेका छन्।
बिबिसीका अनुसार युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई भेट्न जोन्सन शनिबार अचानक किएभ पुगेका थिए।
गत फेब्रुअरी २४ देखि युक्रेनमाथि आक्रमण थालेको रूसले मार्च २९ मा किएभनजिकै रहेका आफ्ना सेना हटाएको थियो। रूसी आक्रमण अहिले पूर्वी युक्रेनतिर केन्द्रीत भएको छ।
At a handshake distance. @BorisJohnson and @ZelenskyyUa walked through the center of Kyiv and talked to ordinary Kyivans. This is what democracy looks like. This is what courage looks like. This is what true friendship between peoples and between nations looks like. pic.twitter.com/ZcdL6NqNp2
— Defence of Ukraine (@DefenceU) April 9, 2022
पूर्वघोषणाबिना किएभ पुगेका जोनसनले जेलेन्स्कीसँग भेटवार्ता गरेका छन्। उनले रूसी आक्रमणविरूद्ध जेलेन्स्कीको नेतृत्व र युक्रेनी जनताले देखाएको बहादुरीको प्रशंसा गर्दै बेलायतले थप सैन्य सहायता दिने घोषणा गरेका छन्।
बेलायती प्रधानमन्त्रीलाई राष्ट्रपति जेलेन्स्कीले किएभका सडकमा घुमाएको थिए। दायाँबायाँ हतियारधारी सैनिकहरूका बीच जोन्सन र जेलेन्स्की किएभका सडकमा हिँडेका थिए। त्यो क्रममा जोन्सनले केही सर्वसाधारणसँग पनि कुरा गरेको भिडिओमा देखिन्छ।
बेलायती प्रधानमन्त्री औपचारिक पोशाकमा थिए भने जेलेन्स्की ट्रयाकसुटमा देखिन्थे। रूसी आक्रमणपछि जेलेन्स्की सार्वजनिक ठाउँमा औपचारिक पोशाकबिनै उपस्थित हुन्छन्। प्राय: भिडिओमा उनले टिसर्टमात्र लगाएको देखिन्छ।
जोन्सन किएभ पुग्नु अघिल्लो दिन युरोपियन आयोगकी अध्यक्ष उर्सला भोन डेर लेयनले पनि किएभको भ्रमण गरेकी थिइन्।