लण्डन । भारत– कोरोना संक्रमितहरुको संख्या उच्च तिव्ररुपमा वृद्धि भएसँगै भारतमा अत्यावश्यकीय स्वास्थ्य सामाग्रीको अभाव भइरहेको छ ।
संक्रमितको उपचारका लागि आवश्यक पर्ने भेन्टिलेटर र अक्सिजन कन्सेन्ट्रेटरका साथै औषधिहरुको अभाव भएसँगै विभिन्न देशहरुले भारतलाई सहयोग गरिरहेका छन् ।
यसैबीच बेलायतले भारतका लागि पठाएको १ सय भेन्टिलेटर, ९५ अक्सिजन कन्सेन्ट्रेटर र जरुरी औषधिको पहिलो खेप भारत पुगेको छ ।
एक दिन पहिला बेलायतका प्रधानमन्त्री बेरिस जोनसनले कोरोनाको दोस्रो घातक लहरसँग जुधिरहेको भारतका लागि ३ सय भन्दा धेरै अक्सिजन कन्सन्ट्रेटरसमेत ६ सय मेडिकल सामाग्री पठाउने बताएका थिए।
त्यस्तै अमेरिकी कम्पनी गिलिएड साइन्सेजले भारतमा रेमडेसिविर औषधिको ४.५ लाख सिसि दिने भएको छ ।
कम्पनीले भारतमा यो औषधि उत्पादन बढाउनका लागि जरुरी एक्टिव फर्मासुटिकल इंग्रीडिएन्ट(कच्चा पदार्थ) पनि दिने भएको छ।
यसअघि सोमबार चीनले पनि भारतमा अक्सिजन कन्सन्ट्रेटरसहितका सामाग्री पठाएको थियो।