२०८३, १४ असार आईतवार
×

ट्रेन्डिङ

जनाधिकारको रक्षा नै मेलमिलाप नीतिको लक्ष्य हो : सभापति देउवा

1818 Shares
Spread the love

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सम्बद्र्धनका लागि कांग्रेसको काँधमा प्रमुख जिम्मेवारी रहेको बताएका छन्। राष्ट्रिय एकता तथा मेलमिलापको दिवसका अवसरमा पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागले आज आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवाले विभिन्न समुदाय र हिमाल, पहाड र तराई–मधेसबीच मेलमिलापको मूल माध्यम लोकतान्त्रिक संविधान नै भएको बताए।

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले देशव्यापी प्रदर्शन गरिरहेको उल्लेख गर्दै उनले जनाधिकारको रक्षा नै मेलमिलाप नीतिको लक्ष्य भएको स्पष्ट गरे। कांग्रेस संस्थापक नेता बिपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति प्रतिपादन गरेकाे दिन पुस १६ गतेका अवसरमा कांग्रेसले हरेक वर्ष मेलमिलाप दिवस मनाउँदै आएको छ। सो अवसरमा सभापति देउवाले भने, “बिपी कोइरालाले २०३३ सालमा राष्ट्रिय एकता र मेलमिलाप आह्वान गर्दै स्वदेश फर्केर लिनुभएको नीति आज पनि उत्तिकै सान्दर्भिक छ । मेलमिलाप नीतिको मूल चुरो हिजो पनि जनता थियो, जनताको अधिकार र लोकतन्त्र थियोे, आज पनि त्यही नै हाम्रो साझा र मूल बाटो हो।”

बिपीले मेलमिलाप नीतिको केन्द्रमा नेपाली जनतालाई राख्नुभएको बताउँदै उहाँले लोकतान्त्रिक अधिकार शान्तिपूर्ण ढङ्गले जनतालाई दिलाउन लिएको नीतिकै जगमा २०४६ सालको परिवर्तन भएको स्मरण गरे। “मेलमिलापको नीतिले राजालाई पनि ठीक ठाउँमा ल्याउन खोज्यो तर प्रजातन्त्रलाई राजाले निरन्तर प्रहार गरिरहेपछि देशले गणतन्त्रको बाटो लियो, बिपीले प्रतिपादन गर्नुभएको मेलमिलापको नीतिकै बाटोबाट नेता गिरिजाप्रसाद कोइरालाले हतियार बोकेर हिंँडेका माओवादीहरुलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनुभएको थियो”, उनले भने।रासस

प्रतिक्रिया