काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले चुनाव अस्वीकार नगर्ने विश्वास व्यक्त गरेका छन् । योहो टिभीको ‘सत्य संवाद’सँगको अन्तर्वार्ताका क्रममा ओलीले भने, ‘नेपाली काँग्रेस आधारभुत रुपमा एउटा लोकतान्त्रिक मूल्य मान्यता भएको पार्टी हो । उसले निर्वाचनलाई अस्वीकार गर्न सक्दैन । अर्को रानीतिक हिसाबले नेपाली काँग्रेसलाई निर्वाचन प्रतिक्षाको विषय थियो । नेकपा विभाजन हुँदा लाभ लिन सकिने नेपाली काँग्रेसको विश्लेषण थियो । काँग्रेसका लागि यो अवसरको कुरा छ । बाहिर देखिने र देखाउने कुरा एउटा हो ।’
काँग्रेसभित्र संसद विघटनपछि नीतिबारे मत विभाजित देखिनुलाई प्रधानमन्त्री ओलीले काँग्रेसको महाधिवेशनसँग जोडर विश्लेषण गरे ।
मंगलबारदेखि काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा केपी शर्मा ओलीको कदमविरुद्ध काँग्रेस आन्दोलनमा जाने कि मध्यावधी निर्वाचनको उपयोग गर्नेभन्नेमा मतभेद देखिएको छ ।
ओलीले भने, ‘काँग्रेसको महाधिवेशन आउँदै छ । महाधिवेशनमा को ठूलो काँग्रेस, को असली काँग्रेस भन्ने उहाँहरुको प्रतिस्पर्धा होला । त्यसले निर्वाचनमा जाने नेपाली काँग्रेसको आधारभूत कुरामा फरक पर्दैन । उहाँहरुले बुझ्नुपर्छ निर्वाचन हुनुहुँदैन भन्ने र भोलि त्यही निर्वाचनमा सहभागी हुने अवस्था हुन्छ ।’
प्रधानमन्त्री ओलीले काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि आक्रमक देखिएका छन् । उनले भने, ‘रामचन्द्रजी अलि क्रान्तिकारी देखिनुहुन्छ । उहाँलाई चुनावमा उठ्नु पनि खतरा छ । उहाँको निर्वाचन क्षेत्रमा तेज तर्रार युवा उठेर उहाँलाई पराजित गरिसकेको स्थिति छ । त्यस कारण उहाँका लागि निर्वाचन आक्रषणको विषय पनि भएन ।’
पौडेलले अब निर्वाचन र सांसदतिर होइन महाधिवेशन गरेर सभापति हुन जोड दिएको ओलीको बुझाइ छ । उनले भने, ‘निर्वाचन हुने भए महाधिवेशन सार्नुपर्नेभयो अलि कति ? निर्वाचनमा पनि उठौँ हारिन्छ, नउठौँ के भनेर नउठ्ने ? त्यो संकटमा उहाँ हुनुहुन्छ । उहाँ अन्यौल ग्रहस्त हुनुहुन्छ । के गर्रौँ कता जाउको स्थिति छ उहाँलाई । विरोध गरेको त्यो भएर होला भन्न ठान्छु ।’