२०८३, ८ कार्तिक शनिबार
×

भाइरसको नयाँ र तीव्र सङ्क्रमणशील प्रकारका कारण बेलायतलाई चौतर्फी नाकाबन्दी

36749 Shares

लन्डन। बेलायतमा आपूर्तिको ‘लाइफलाइन’ मानिने र दिनमा हजारौं लरी आवतजावत गर्ने युरो-टनेल फ्रान्सले बन्द गरिदिएको छ । सामान र यात्री दुबैका लागि कम्तिमा दुई दिनका लागि सीमा बन्द भएपछि धेरै यात्री र ट्रकहरू सीमामै रोकिएका छन् । फ्रान्सले रोके पनि उताबाट आउने सामान आफूले नरोकेको भन्दै बेलायत सरकारले जनतालाई नआत्तिन र आवश्यकभन्दा बढ़ी खरिद नगर्न सल्लाह दिएको छ ।

बेलायतमा भेटिएको कोरोनाभाइरसको नयाँ प्रकार अन्यभन्दा ७०% सम्म बढ़ी सङ्क्रमणशील रहेको वैज्ञानिकहरूको दाबीसँगै बेलायतसँग धेरै देशले हवाइ सम्बन्ध स्थगित गर्दै गरेको समाचार आइरहेकाछन् ।

जर्मनी, फ्रान्स, इटाली, आयरल्याण्ड, स्विट्जरल्याण्ड, द नेदरल्याण्डस जस्ता युरोपेली देशले डिसेम्बरभरिका लागि ‘ट्राभल ब्यान’ घोषणा गरेका छन् भने साेमबार ब्रसेल्समा बस्ने युरोपियन काउन्सिलको बैठकले सिङ्गो युनियनको ढोका बेलायतका लागि बन्द गर्ने अनुमान छ । साेमबारबाट हङ्कङ्, क्यानडा, टर्की लगायतका देशले पनि हवाइ सम्बन्ध स्थगित गर्ने बताइएको छ ।

आमरूपमा भ्याक्सिनेशन सुरु गरेको बेलायतमा भाइरसको नयाँ स्ट्रेन भेटिएसँगै विश्वभर चिन्ता बढेको छ । युरोपको शेयर बजार ओरालो लागेको छ भने छिटै महामारीबाट बाहिर आउने आशामा ठेस लागेको छ ।

बेलायतमा आइतबार ३५,९२८ जनामा सङ्क्रमण पुष्टि भएको थियो जुन अघिल्लो हप्ताभन्दा झन्डै दोब्बर हो । झन्डै सिङ्गो बेलायत ‘सेमि लकडाउन’ मै रहेको अवस्थामा समेत हप्ता दिनमै दोब्बर हुने गरी फैलिएको सङ्क्रमणले धेरैलाई चिन्तित बनाएको छ । बेलायतमा लकडाउनका नियमहरूमा थप कड़ाइसमेत गरिएको छ ।

नयाँ प्रकार (स्ट्रेन) बारेको अध्ययन प्रारम्भिक चरणमै रहेकाले थप तथ्य आउन बाँकी नै छ । तथापि भाइरसको स्ट्रेन एकदमै सङ्क्रमणशील रहे पनि यो पहिलेभन्दा बढ़ी घातक भएको पुष्टि भने नभएको बताइन्छ । अहिले विकास गरिएको भ्याक्सिनले अझै पनि यसलाई नियन्त्रण गर्न सक्ने विश्वास वैज्ञानिकहरूले गरेका छन्  ।

प्रतिक्रिया