काठमाडौँ । नेपाल प्रेस युनियनले प्रधानमन्त्री ओलीले संसद विघटनका लागि गरिएको सिफारिसलाई ‘ लोकतन्त्रलाई सिध्याउने बाटोमा उद्यत ’ भएको प्रतिक्रिया दिएको छ ।
नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीद्वारा जारी प्रेस बिज्ञप्तिमा भनिएको छ कि प्रतिनीधि सभा बिघटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रीपरिषदले राष्ट्रपतिसमक्ष गरेको सिफारिसप्रति नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको छ ।
लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीको यो कदम लोकतन्त्रलाई नै सिध्याउन बाटोमा उद्यत देखिएको छ । प्रधानमन्त्री भएसँगै ओलीमा देखिएको सर्वसत्तावादी महत्वाकांक्षा यो चरणसम्म आइपुग्दा नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको भविष्यमाथि नै प्रश्न चिन्ह खडा भएको छ ।
संसद बिघटन जस्तो असंबैधानिक, स्वेच्छाचारी एवं अलोकतान्त्रिक निर्णय गरेर प्रधानमन्त्री ओलीले लोकतन्त्रमाथि नै कू गरेका छन् । लोकतन्त्रमाथि गरिएको यो प्रहार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि पनि पर्ने पक्का छ ।
कुनै पनि लोकतन्त्रवादी तथा स्वतन्त्रताको पक्षधरले प्रधानमन्त्रीको यो निरंकुश चरित्र र प्रतिगामी कदमको विरुद्धमा उभिनुपर्छ भन्ने युनियनको ठहर छ । युनियन यसै वक्तव्य मार्फत लोकतान्त्रिक मुल्य मान्यताको संरक्षणका तथा प्रतिगमनका कुनैपनि प्रपञ्चलाई परास्त गर्न प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सहितको लोकतन्त्र पक्षधरहरु सबैलाई एक ठाउँमा उभिन समेत आग्रह गर्दछ ।