काठमाडौं। प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आइतबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठकमा सहभागी नहुने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न १३ वटा आयोगमा प्रमुख आयुक्त लगायत करिब ४ दर्जन पदाधिकारी नियुक्तीका लागि संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।
तर, प्रमुख प्रतिपक्षी दलका नेता सहभागी नहुने भएपछि आइतबारका लागि बोलाइएको बैठकमा पदाधिकारी नियुक्तीबारे निर्णय नहुने सम्भावना बढेको छ ।
सरकारविरुद्ध आन्दोलन घोषणा गरेर तयारीमा जुटेको काँग्रेस संवैधानिक परिषद् बैठकमा सहभागी नहुने भएको हो। काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘हामी आन्दोलनको तयारीमा छौं। सडक आन्दोलन पनि गर्ने बैठकमा पनि सहभागी हुने कुरा मिल्दैन भन्ने सन्देश प्रधानमन्त्रीको मा पुर्याएका छौं ।’
सर्वसम्मत रुपमा संवैधानिक परिषद्ले पदाधिकारी नियुक्तीका लागि सिफारिस गर्ने परम्परा रहँदै आएको छ। प्रमुख प्रतिपक्षी दलका नेताको सहभागी नभएको बैठकले हालसम्म पदाधिकारी नियुक्तीको सिफारिस गरेको इतिहास पनि छैन। त्यसैले आइतबारको बैठकले संवैधानिक निकायमा रिक्त पदाधिकारी नियुक्तीको सिफारिस गर्ने सम्भावना टर्दै गएको छ ।
त्यसो त सत्तारुढ दल नेकपामा पनि आन्तरिक किचलो छ। प्रधानमन्त्री एक्लौटी रुपमा चलेको आरोप उनीमाथि उनकै पार्टीका नेताहरुले लगाइरहेका छन्। आइतबार नै दिउँसो १ बजे नेकपा स्थायी कमिटी बैठक बोलाइएको छ। संवैधानिक परिषद्को बैठक बिहान ९ बजेका लागि बोलाइएको छ ।