२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

कांग्रेसले सरकारविरुद्ध २९ मंसिरमा विरोध प्रदर्शन गर्ने, तुरुन्तै संसद् अधिवेशन बोलाउन माग

827 Shares
Spread the love

नेपाली कांग्रेसले आफ्ना वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारीलगायत सरकारको निरंकुशताविरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ । बुधबार तनहुँमा पुल उद्घाटन गर्न गएका नेता पौडेललाई कार्यक्रम गर्न अवरोध गर्दै प्रहरीले तीन घन्टासम्म नियन्त्रणमा लिएको थियो । सो घटनापछि देशभर कांग्रेस र सम्बद्ध भ्रातृ संस्थाहरूले त्यसको विरुद्धमा प्रदर्शन गरेका थिए । तनहुँ घटनाकै विषयमा छलफल गर्न शुक्रबार सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका थिए ।

बैठकले तनहुँ घटनासहित कोरोना रोकथाम, नियन्त्रण र राहत वितरणजस्ता कार्यमा सरकार असफल भएको, भ्रष्टाचार र अनियमितता बढेको तथा सर्वसत्तावादी आचरण लाद्न थालेको भन्दै मंसिर २९ गते ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । कम्युनिस्ट नेतृत्वको वर्तमान सरकार भ्रष्टाचारमा लिप्त रहेको, कोरोना संक्रमणविरुद्ध आवश्यक र अत्यावश्यक काम गर्न नसकेकोलगायत निष्कर्षसहित त्यसको विरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यस्तै, कांग्रेसले संसद्को हिउँदे अधिवेशन बोलाउन माग गरेको छ । संसद् ठप्प हुँदा नागरिकका चासो र चिन्ताका विषयमा छलफल हुन नपाएको भन्दै संसद्को प्रमुख प्रतिपक्षी दल कांग्रेसले यथाशीघ्र संसद् अधिवेशन बोलाउन माग गर्ने निर्णय गरेको हो । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका वेला प्रधानमन्त्री केपी शर्मा ओलीले गत १८ असारमा हठात् संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए ।

प्रतिक्रिया