२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

सत्ता साझेदारीको चर्चाले कांग्रेसमा ल्याएको तरंग

1143 Shares
Spread the love

काठमाडौं ।  शनिबार साँझ प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको भेटवार्तालाई लिएर सत्ता साझेदारीको चर्चा चलेपछि कांग्रेसभित्र पनि नयाँ बहस सुरु भएको छ ।

सत्तारुढ दल नेकपाको विभाजन र त्यसपछि नेकपाकै एक खेमा ओलीसँग सत्ता साझेदारी गर्ने विषयमा ओली र देउवाबीच छलफल भएको भन्दै सार्वजनिक सञ्चारमाध्यममा समाचार प्रशारण तथा प्रकाशन भएपछि कांग्रेसका नेताहरुले त्यसको विपक्षमा मत सार्वजनिक गर्न थालेका छन् ।

सत्तासाझेदारीका विषयमा सभापति देउवा र उनको सचिवालयले अनौपचारिक रुपमा खण्डन गरेपनि देउवा स्वयम्ले भने कुनै प्रतिक्रिया सार्वजनिक गरेका छनन् । कांग्रेस मुख्यालयले पनि औपचारिक विज्ञप्ति सार्वजनिक गरेको छैन । प्रवक्ता विश्वप्रकाश शर्माले व्यक्तिगत सामाजिक सञ्जालमार्फत सत्ता साझेदारीको विषयलाई अस्वीकार गरेपनि सभापतिको तर्फबाट भने औपचारिक रुपमा चर्चाको खण्डन भएको छैन ।
प्रवक्ता शर्माले ट्विट गर्दै ‘कांग्रेसका लागि ५ वर्ष प्रतिपक्षमा नै बस्ने जनादेश हो’ हो भनेका छन् ।

जनताको आदेश बाहेक कांग्रेसले कुनै निर्णय गर्ने छैन, उनले स्पष्ट पारेका छन् । त्यस्तै अन्य नेताहरु अर्जुननरसिंह केसी, धनराज गुरुङ, प्रदीप पौडेल लगायतले फेसबुक र ट्विटरमार्फत सत्ता साझेदारी गर्ने विषय अप्रत्याशित, अकल्पनीय र अबान्छित भन्दै सार्वजनिक सञ्चारमाध्यममा आएका खबरहरुको खण्डन गरेका छन् । गुरुङ र पौडेलले झण्डै झण्डै उस्तै भाषामा सरकारमा सहभागी हुने विषयलाई अस्वीकार गरेका छन् । नेता केसीले भने कांग्रेस सरकारमा सहभागी हुने प्रसंग पार्टीलाई आत्मघाती हुने भन्दै फेसबुकमा स्टाटस अपडट गरेका छन् ।

तत्काल बैठक चाहियो 
केन्द्रीय सदस्य दीपक गिरीले पछिल्लो राजनीतिक घटनाक्रमबारे पार्टीको केन्द्रीय समितिमा नै छलफल हुनुपर्ने माग गरेका छन् । उनले सभापति र प्रधानमन्त्रीबीच भएको छलफलले मुलुकको राजनीतिमा नै आशंका पैदा गरेकाले सभापतिले केन्द्रीय समितिको बैठकमा नै स्पष्ट पार्नुपर्ने बताएका छन् । तत्काल केन्द्रीय समितिको बैठक बस्नुपर्छ र सभापतिले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीसँगको वार्ताबारे स्पष्ट पानुपर्छ, गिरीले भने ।

सत्तासाझेदारी असम्भव 

उता, महामन्त्री डा. शशांक कोइरालाले नेकपाको एउटा पक्षसँग गरिने भनी चर्चामा आएको सत्तासाझेदारी असंभव रहेको बताएका छन् ।
गृहजिल्ला नवलपरासीको भ्रमणमा रहेका कोइरालाले सभापति र प्रधानमन्त्रीबीचको छलफलबारे आफू जानकार नभएपनि सत्तासाझेदारीबारे छलफल हुनै नसक्ने बताए ।
सत्ता साझेदारी असंभव छ, उनले भने यो विषयमा छलफल नै हुन सक्दैन ।
डा. कोइरालाका अनुसार कांग्रेस अहिले महाधिवेशनको गृहकार्यमा छ ।

बैठक कहिले ?

महाधिवेशनको गृहकार्यमा रहेको भनिएपनि प्रक्रियामा भने खासै प्रगति हुन सकेको छैन ।
तिहार अघि बसेको केन्द्रीय समितिको बैठकले क्रियाशील सदस्यता वितरण तथा नवीकरणका लागि मंसिर मसान्तसम्मको समयसीमा तोकेपनि अन्य कार्यतालिका भने तय गर्न सकेको छैन ।
तिहार र छठ लगत्तै पुनः बैठक बस्ने र कार्यतालिका तय गर्ने समझदारी भएपनि केन्द्रीय समितिको बैठकको मिति भने तय हुन सकेको छ्रैन ।
केन्द्रीय समितिको बैठक अब छिट्टै बस्नेछ, महामन्त्री कोइरालाले संक्षिप्त जानकारी दिए ।

प्रतिक्रिया