काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालासंग जोडिएको खाम प्रकरणबारे यथार्थ खुलेको छ । महामन्त्री कोइरालाका सहयोगी भरतराज तिवारीले राजकुमार नाम गरेका एक आफन्तलाई दिन खोजेको सहयोग रकम नाम जुधेका कारण फरक नम्बरमा फोन गरिदा पत्रकार राजकुमार श्रेष्ठकहाँ पुगेको हो । नेपाली कांग्रेसका कार्यकर्ता समेत रहेका धादिंगका राजकुमारलाई व्यक्तिगत हिसाबले दिन खोजेको सहयोग असावधानीवश अनलाइन खबरका पत्रकार राजकुमार श्रेष्ठकहा पुगेको तिवारीले बताएका छन् । यस प्रकरणमा महामन्त्री डा. शशांक कोइरालालाई जानकारी नरहेको र महामन्त्रीसंग घटना जोडिनुपनि सान्दर्भिक नभएको तिवारीको भनाई छ । तिवारीले सञ्चारमाध्यम र पत्रकारिता क्षेत्रको आफूले सधैं सम्मान गर्ने बताउँदै पत्रकारहरुलाई दसैं खर्च बाड्ने काम आफूबाट नभएको स्पष्ट पारेका छन् ।
तिवारीको भनाई जस्ताको तस्तै :
कांग्रेसका महामन्त्रीले दसैं खर्च बाँडेक भनी प्रकाशित समाचारका सम्बन्धमा म निम्न कुरा स्पस्ट पार्न चाहान्छु ।
राजकुमार नाम गरेका एकजना आफन्तले केही दिन अघि दसैं खर्च दिनका लागि मलाई अनुरोध गरेका थिए। त्यही सहयोग रकम लिएर मंगलबार म अनामनगर चोकमा पुगेको थिएँ।
कोभिड संक्रमणका कारण उहाँलाई बाहिर बोलाउने क्रममा असावधानीवश गलत नम्बरमा कल गएको र तपाइलाई एउट समान दिनुछ भनेपछि कल रिसिभ गर्ने व्यक्तिले कार्यलय सहयोगी पठाइदिन्छु भन्नुभयो। हतारमा गरिएको यही सम्वादका आधारमा भूलवश त्यो सहयोग मैले ती सहयोगीको हातमा पठाएको हुँ।
सहयोग लिने व्यक्तिको पहिचान गर्ने क्रममा म बाट कमजोरी तथा त्रुटी भएको भएको हो। यसबारेमा कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालालाई कुनै जानकारी छैन। यो उहाँको सरोकारको विषय पनि होइन। त्यसैले यो विषयलाई महामन्त्री कोइरालासँग जोडेर नहेरी दिनु हुन म अनुरोध गर्दछु।
समग्र पत्रकारिता र मिडिया क्षेत्रको व्यवसायिक गरिमा र मर्यादाप्रति म सचेत र संवेदनशील रहेको स्पष्ट पार्न चाहान्छु।
-भरत तिवारी