२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

प्रधानमन्त्रीलाई काँग्रेसको प्रश्नः डा केसीलाई कात्रो पठाउने तयारी हो ?

1021 Shares
Spread the love

काठमाडौं। आमरण अनशनमा रहेका चिकित्सा सुधार अभियन्ता डा. गोविन्द केसीको माग पूरा गर्ने र उनको ज्यान बचाउने प्रयास नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आपत्ति प्रकट गरेको छ। काँग्रेसले डा. केसीसँग वार्ता नगरी कात्रो पठाउने हो भनी प्रश्नसमेत गरेको छ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै यस्तो प्रश्न गरेका हुन्। उनले भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, डा गोविन्द केसी अनशनमा बस्नु भएको आज २४ दिन पुग्यो। वार्ता समिति सम्म गठन गर्नुभएको छैन। कुनै बेला कमरेड प्रचण्डहरुको बन्दुकको विद्रोहलाई कटु आलोचना गर्नु हुन्थ्यो त्यो स्वभाविक थियो, अब अनशन जस्तो शान्तिपूर्ण सत्याग्रहलाई समेत सुन्न अस्वीकार्य गर्दै हुनुहुन्छ । खुल्ला ढंगले के यो सन्देश दिन चाहनु भएको हो कि— लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित हुनु र लोकतान्त्रिक चरित्रको हुनुमा फरक हुन्छ ?’

उनले नेपाली कांग्रेसको पालामा डा केसी अनशन बस्दा, वार्ता गरिए, कयौं माग पूरा गरिएको बताएका छन्। उनले भनेका छन्, ‘सुशील कोइराला नेतृत्वको सरकारले उच्च स्तरीय कार्यदल बनाएर होस् या शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेश जारी गरेर होस, संवाद मार्फत उहाँका माग पूरा गरिए । तर यहाँले उसबेला पूरा गरिएका माग एकातर्फ उल्टाउनु भयो अर्कातर्फ नयाँ सन्दर्भमा अघि सारिएका माग बारे संवाद मार्फत समाधान खोज्ने लोकतान्त्रिक संस्कार यहाँमा भएन । सत्याग्रहीलाई दुव्र्यवहार देखि, सत्ताको अहंकार सम्मले कम्युनिष्ट तन्त्रको मनोबिज्ञानलाई मात्रै पुष्टि गरेका छन्।’

काँग्रेसले डा केसीको स्वास्थ स्थिति जटिल बन्दै गएको भन्दै वार्ता नगर्ने बालुवाटारे बालहठ महंगो पर्ने चेतावनीसमेत दिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘हेक्का रहोस् लोकतन्त्र भर्सेस ‘कम्युनिष्टतन्त्र’ मा अन्ततः जित लोकतन्त्रकै हुनेछ। डा केसीको जायज आवाजलाई सम्बोधन गर्न ढिलाइ गर्ने गम्भीर भुल किमार्थ नगरियोस्।’

प्रतिक्रिया