काठमाडौं । सोमबार प्रदेश नम्बर ५ को प्रदेश सभामा संसदीय परम्पराको धज्जी उड्ने गरी काँग्रेस विधायकहरुले कुर्सी तोडफोड गरेको विषयमा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिक्रिया दिएका छन् ।
सोमबार साँझ ट्वीटरमा एक टिप्पणी लेख्दै उनले कुर्सी तोडफोड गर्नु काँग्रेसको नीति र संस्कृति विरुद्ध भएको बताएका छन् । उनले लेखेका छन्, ‘प्रदेश ५ को संसदमा ३ सांसदले गरेको कुर्सी तोडफोड नेपाली कांग्रेसको नीति र संस्कृति विपरीत छ। रोस्ट्रम भाँच्नेदेखि संसदीय पद्धति नै नास्छौं भन्ने कम्युनिस्ट पार्टीहरुलाई समेत रुपान्तरण गर्ने प्रशिक्षक रहेको दलका सांसदलाई पार्टीको संस्कृति उल्लंघनको स्वायत्तता विल्कुलै दिइएको छैन ।’
सोमबार प्रदेश सभामा प्रदेशको स्थायी राजधानीबारे सरकारको प्रस्ताव टेबुल हुँदै गर्दा काँग्रेसका तीनजना विधायकले कुर्सी तोडफोड गरेका थिए। काँग्रेस विधायकको यो कृत्यको चौतर्फी आलोचना भइरहेको छ। सामाजिक सञ्जालमा कुर्सी तोडफोडेको फुटेज भाइरल बनेको छ ।
