२०८३, ८ कार्तिक शनिबार
×

चीनले दियो भारतलाई चेतावनी, ‘हाम्रा सैनिक नजिस्क्याउ’

2242 Shares

एजेन्सी, । चीनले आफ्ना सैनिकलाई नजिस्काउन भारतलाई चेतावनी दिएको छ ।

भारतलाई आफ्ना गलत हर्कत तत्काल सुधार्न र चिनियाँ सेनालाई जिस्काउन बन्द गर्न चीनले चेतावनी दिएको हो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले हालै चीन–भारतबीचको वास्तविक नियन्त्रण रेखा एलएसीमा संघर्ष हुनुमा भारत जिम्मेवार रहेको बताएको बीबीसीले जनाएको छ ।

चिनियाँ पत्रिका ग्लोबल टाइम्सकाअनुसार विदेश मन्त्रालयको दैनिक प्रेस ब्रिफिङमा प्रवक्ताले भने, ‘पहिले भारतले दुई पक्षीय सहमतिहरुको उल्लंघन गर्यो, भारतीय सैनिकले अवैध तरिकाबाट सीमा पार गरेर हाम्रा सैनिकलाई जिस्काए, एकतर्फी रुपमा कारबाही शुरु गरे र चिनियाँ सैनिकलाई धम्क्याउनका लागि गोली चलाए ।’

यसअघि भारतीय रक्षा मन्त्री राजनाथ सिंहले संसदमा सीमा क्षेत्रको तनावबारे बयान दिँदै चीनले सीमा उल्लंघन गरेको आरोप लगाएका थिए ।

भारत र चीनबीच लद्दाखस्थित वास्तविक नियन्त्रण रेखामा पछिल्लो ४ महिनादेखि तनाव छ । तनाव अन्त्यका लागि दुबै देशले कूटनीतिक पहल गरिरहे पनि एक अर्कालाई सैन्य हस्तक्षेपको आरोप पनि लगाइरहेका छन् ।

जुन १५ मा लद्दाखको गलवान घाँटीमा दुई देशका सैनिकबीच हिंस्रक झडप हुँदा २० भारतीय सैनिक मारिएका थिए ।

भारत र चीनबीच ३ हजार ५०० किलोमिटर लामो सीमा क्षेत्र छ । सीमा विवादकै कारण दुई देशबीच सन् १९६२ मा युद्धसमेत भएको थियो ।

प्रतिक्रिया