एजेन्सी- पाकिस्तानले मंगलबार देशको नयाँ राजनीतिक नक्सा जारी गरेको छ।
नक्सामा भारत प्रशासित कश्मीर र गुजरातको जुनागढसमेत समेटिएको छ। पाकिस्तान सरकारको मन्त्रिपरिषद बैठकले आज उक्त नक्सालाई पारित गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । पाकिस्तानी सञ्चार माध्यम डनले पाकिस्तानी विदेशमन्त्री शाह महुमद कुरेशीको हवला दिँदै पाकिस्तानले पहिलो पटक पूरै कश्मीर र जुनागढसमेत समेटेर नयाँ नक्सा जारी गरेको उल्लेख गरेको छ।
पाकिस्तानले नयाँ नक्सामा लद्दाख, सियाचिनसमेत गरी गुजरातको जुनागढमा आफ्नो दाबी गरेको छ ।
Prime Minister Imran Khan unveiling the Political Map of Pakistan. https://t.co/OHvVjeQNt7
— Govt of Pakistan (@pid_gov) August 4, 2020
पाकिस्तानी प्रधानमन्त्री इमरान ख़ानले मंगलवार नयाँ नक्सा जारी भएको बारे जानकारी दिएका छन् । मन्त्रिपरिषदको यो निर्णयमा विपक्षी पार्टीले समेत स्वागत गरेको उनले बताएका छन् ।
उनले भनेका छन्, ‘पाकिस्तानको नयाँ राजनीतिक नक्साले पाकिस्तान जनताको उमंगको प्रतिनिधित्व गर्छ । पाकिस्तान र कश्मीर बासिन्दाहरुको सैद्धान्तिक विचारधाराको समर्थन गर्छ ।’ उनले अब पाकिस्तानका स्कूल, कलेज र सबै सरकारी कार्यालयमा नयाँ आधिकारिक नक्सा प्रयोगमा ल्याइनेछ ।
भारतको प्रतिक्रिया : कानूनी वैधता र विश्वसनीयता छैन
पाकिस्तानले कश्मिरसहितको भूभाग समेटेर नयाँ राजनीतिक नक्शा जारी गरेसँगै भारतले यसको कुनै कानूनी वैधता र अन्तर्राष्ट्रिय स्तरमा कुनै विश्वनीयता नरहेको प्रतिक्रिया जनाएको छ ।
भारतीय विदेश मन्त्रालयले नयाँ पाकिस्तानी नक्साबारे प्रतिक्रिया जनाउँदै ‘हास्यास्पद राजनीतिक अभ्यास’ भन्दै गुजरात तथा जम्मू, कश्मीर र लद्दाखका भूभागमाथि अमान्य दाबी गरिएको र ती दाबीको न त कानुनी वैधता न त अन्तर्राष्ट्रिय विश्वसनीयता नै रहेको जनाएको हो ।