२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

कोरोना नियन्त्रण गर्न सरकारलाई देउवाका सात सुझाव

1052 Shares
Spread the love

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना नियनन्त्रण गर्न सरकारलाई सात बुँदे सुझाव दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बोलाएको विज्ञसँगको परामर्शका क्रममा सभापति देउवाले सरकारलाई सात बुँदे सुझाव दिएका हुन्।

सभापति देउवाले हालसम्मका कमजोरी र प्रगतिको गहिरो समीक्षा गरेर स्वास्थ सामग्री खरिदमा भएको अनियमितता र भ्रष्टाचार ढाकछोप नगरी छानवीन गरी कारवाही गर्न सुझाव दिएका छन्।

देउवाले कोरोना संक्रमण नियन्त्रण गर्न आरडीटी परीक्षण स्थायी रुपले अन्त्य गर्न,सम्पूर्ण रुपले पीसीआर परीक्षण गर्दै एक प्रदेशमा एकलाख नयाँ परिक्षण तत्काल प्रारम्भ गर्ने गरी आवश्यक बन्दोबस्त गर्न आग्रह गरेका छन्।

सभापति देउवाले स्वास्थ सामग्रीको पर्याप्त प्रबन्ध गर्न, अत्यावश्यक पर्ने औषधि रेमडिसिभरको आयातमा तदारुकता दिन र आइसोलेसन वार्ड विस्तार र भेन्टिलेटरको अत्यावश्यक प्रबन्ध गर्न सरकारलाई सुझाव दिएका छन्।

उनले मापदण्ड अनुरुप क्वारेन्टाइनहरुको यथाशीघ्र ब्यवस्थापन गर्न, विदेशमा अप्ठ्याराेमा परेका नेपालीको निःशुल्क उद्वार गरी क्वारेन्टाइन र परीक्षण पश्चात् घर पुर्याउने ब्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन्।

उनले नेपालीको उद्दार गर्नुपर्ने स्थितिमा बाहेक सिमानाको आवागमनमा सम्पूर्ण कडाइ र सीमा नाका सिल गर्न सुझाव दिएका छन्।

सभापति देउवाले सुरक्षाका लागि मास्क लगाउने अनिवार्यता सँगै चेतनामूलक अभियानमा आम संचारका माध्यमको व्यापक प्रयोग गर्न तथा परिस्थिति अनुरुपका रणनीति निर्माण गर्न बिज्ञहरुसँग परामर्श गर्ने क्रमलाई नियमितता दिएर निर्मित रणनीतिको चुस्त कार्यान्वयनका लागि तदारुकता देखाउन सुझाव दिएका छन्।

उनले विभिन्न दल, संघसंस्था र आम संचार माध्यमका सुझाव नियमित रुपले ग्रहण गरेर कार्य गर्ने प्रवृत्ति आत्मसात गर्न पनि सुझाव दिएका छन्।

यसैगरी उच्च जोखिम, मध्यम जोखिम र न्यून जोखिमको क्षेत्र पहिचान गरेर भिन्न क्षेत्र भिन्न रणनीति निर्माण र कार्यान्वयन गर्न र विभिन्न जायज माग अघि सारेर आमरण अनशनमा बसेका युवाहरूको भावना तत्काल सम्बोधन गरेर उनीहरुको जीवन रक्षा गर्न पनि आग्रह गरेका छन्।

सभापति देउवाले बर्ग, क्षेत्र र परिस्थिति हेरी राहतका लागि कार्यक्रम तर्जुमा र कार्यान्वयन ब्यवस्थित ढंगले गर्न सुझाव दिएका छन्।

प्रतिक्रिया