२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

सुनील थापा कांग्रेसका सहमहामन्त्री बनाइँदै, साउन १३ मा पार्टी प्रवेश गर्ने तयारी

54093 Shares
Spread the love

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शनबिारमात्र अलग भएको घोषणा गरेका पूर्वमन्त्री सुनीलबहादुर थापा नेपाली कांग्रेसका सहमहामन्त्री बनाइने भएका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहमहामन्त्री बनाउने आश्वासन दिएपछि उनले आफ्नो दलबलसहित राप्रपा परित्याग गरेको घोषणा गरेका थिए।

समाचार स्रोतका अनुसार थापा र उनको समूह औपचारिकरुपमा यही साउन १३ गते मंगलबार नेपाली कांग्रेस प्रवेश गर्ने कार्यक्रम तय भएको छ। उनीसँगै कांग्रेस प्रवेश गर्ने मध्येका पूर्वगृहराज्य मन्त्री विष्णुविक्रम थापा र बाबुराम बस्नेतलाई केन्द्रीय सदस्य बनाइने छ भने अरु तीनजनालाई आमन्त्रित केन्द्रीय सदस्य मनोनित गरिने भएको छ।

पूर्वप्रधानमन्त्री तथा राप्रपाका संस्थापक नेता सूर्यबहादुर थापाका छोरा सुनील थापालाई कांग्रेस प्रवेश गराउन नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पहल गरेका थिए। थापा राप्रपा एकताको घोषणा सभामा पनि सहभागी नभई त्यहीबेलादेखि राप्रपासँग असन्तुष्ट रहँदै आएका थिए।

गुटबन्दीले आक्रान्त पारेको राप्रपा छोडे पनि झन् ठूलो विवादमा पर्दै आएको कांग्रेसमा उनको भूमिका कस्तो हुने हो त्यो केही समयपछि खुल्दै जानेछ तर नेता निधिको प्रयत्नमा उनी सहमहामन्त्री बनाइन लागेकाले उनलाई देउवा क्याम्पभित्र स्वागत गरिएको आशंका छ।

रामचन्द्र पौडेल नेतृत्वमा एकत्रित भएका कांग्रेसको पराम्परागत कोइराला समूह र संस्थापन देउवाका बीचमा आगामी महाधिबेशनमा ठूलै प्रतिष्धर्पा र प्रतिद्वन्द्विता हुने भएकाले औपचारिक प्रवेश नहुँदै थापाको भविष्यबारे कांग्रेसजनहरुले नै चासो राख्न थालेका छन्।

प्रतिक्रिया