काठमाडौं । युवा चिकित्सक संघले सर्वसाधारणका लागि भिडियो कल मार्फत निःशुल्क भर्चुअल स्वास्थ्य सेवा प्रदान गर्ने भएका छन् ।ओखती सोलुसनसंगको प्राविधिक सहकार्यमा, कोरोना महामारिले उत्पन्न गरेका सुरक्षा चुनौतिहरुका कारण स्वस्थ्य सेवाबाट बञ्चित सर्वसाधारणहरुका लागि संघले यहि असार १३ गतेबाट एक हप्ताका लागि सो सेवा प्रदान गर्न लागेको छ।
कोरोना भाईरसको महामारिको समयमा सुरक्षा चुनौतिका कारण स्वास्थ्य सेवा तथा परामर्शका लागि स्वास्थ्य संस्थाहरुसम्म पुग्न नसकिरहेका सर्वसाधारणहरु यो कार्यक्रमबाट लाभान्वित हुने आयोजक संस्थाले जनाएको छ । कार्यक्रम अन्तरगत संघ संग अवद्ध ५० भन्दा बडी डाक्टरहरुले सर्वसाधारणलाई निःशुल्क सेवा प्रदान गर्नेछन् ।
ओखती सोलुसनको ओखती भिडियो क्लिनिक प्रयोग गरि सेवाग्राहीहरुले घरबाटै स्वास्थ्य सेवा तथा परामर्श लिन सक्ने आयोजक युवा चिकित्सक संघका केन्द्रीय महासचिव सुलोचन लोहनीले बताउनु भयो । सेवाग्राहीहरुले आयोजक संस्थाको फोन नं ९७५११ ५४८१० र ९८१७ ०४४००९ मा फोन गरि बुकिङ गर्न सकिनेछ । बुकिङ सम्पन्न भएपछि सेवाग्राहीले आफ्नो मोबाईलमा भिडियो कलका लागि लिंक प्राप्त गर्नेछन् र तोकिएको समयमा घरबाटै आफुले छानेको डाक्टरसंग परामर्श सेवा लिन सक्नेछन् ।
परामर्श सेवा लगत्तै सेवाग्राहीले मोबाइलमै प्रेस्कृप्सन समेत प्राप्त गर्नेछन् । भिडियो कल सेवा तथा प्रेस्कृपसन लगायतका प्राविधिक पक्षको सहजीकरण गरिरको ओखति सोलुसनले आधुनिक प्रविधिको प्रयोग गरि सर्वसाधारण, चिकित्सक तथा क्लिनिकहरुलाई जोड्ने काम गरिरहेको छ । उपलब्ध प्रविधिको प्रयोगबाट सर्वसाधारणले घरबाटै आफुले चाहेको डाक्टर वा क्लिनिकसंग समय लिन सकुन, साधारण परामर्श सेवाका लागि अस्पतालनै धाउनुपर्ने बाध्यता नहोस् र सेवा प्रदायकहरुले पनि सर्वसुलभ र सुरक्षित रुपमा सेवा प्रदान गर्न सकुन भन्ने उद्धेश्यका साथ सेवा सुरु गरिएको ओखति सोलुसनका अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
युवा चिकित्सक संघको एक हप्ते निःशुल्क सेवा पश्चात पनि सर्वसाधारणले ओखती सोलुसनको वेभसाईट मार्फत निश्चित शुल्क तिरि आफुले चाहेको चिकित्सक वा क्लिनकसंग घरबाटै समय लिन वा भिडियो कल मार्फत स्वास्थ्य सेवा लिन सक्ने र मोबाइलमै प्रेस्कृपसन प्राप्त गर्न सक्ने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।