२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

काठमाडौंका मुख्य धार्मिक तथा पर्यटकीय स्थलमा फ्रि वाईफाई सेवा सुरु

2378 Shares
Spread the love

काठमाडौं। राजधानीका हनुमानढोका, पशुपतिनाथ, स्वयम्भू, बौद्धलगायतका ६ वटा धार्मिक तथा पर्यटकीय स्थलमा फ्रि वाईफाई सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाले आइतबारदेखि हनुमानढोका, पशुपतिनाथ, स्वयम्भू, बौद्ध, बालाजु बाईसधारा उद्यान र शंखपार्कमा फ्रि वाईफाई सेवा सुरु गरेको हो।

वल्र्ड लिंकको साझेदारीमा शुभारम्भ गरिएको सो सेवाको एक कार्यक्रमबीच उद्घाटन गर्दै काठमाडौं महानगरपालिकका मेयर विद्यासुन्दर शाक्यले महानगरपालिकाको घोषित नीति अनुसार काठमाडौंको मुख्य ६ स्थानहरुमा फ्रि वाईफाई सेवा संचालनमा ल्याइएको स्पष्ट पारे।

उनले काठमाडौंलाई स्मार्ट सिटीको रुपमा विकास गर्न प्रविधिसम्बन्धि अन्य कामलाई तीव्रता दिने प्रतिवद्धता पनि व्यक्त गरे। मेयर शाक्यले काठमाडौंको धर्मपथमा ‘स्मार्ट पाटी भवन’ निर्माण गर्ने घोषणा पनि गरे। उनले काठमाडौंलाई स्मार्ट सिटीको रुपमा विकास गर्न निजी क्षेत्रसँगको सहकार्यलाई जोड दिने नीति लिइएको जनाए।

सो सेवालाई शुभारम्भ गर्न काठमाडांै महानगरपालिका र वल्र्ड लिंकबीच गत चैत्र १८ गते नै सम्झदारी भएको थियो। यसबीचमा परिक्षण गरेपछि मात्रै सो सेवाको औंपचारिक उद्घाटन गरिएको  पनि मेयर शाक्यले जानकारी दिए। सो सेवाका लागि महानगरपालिकालाई कुनै पनि आर्थिक दायित्व पर्नेछैन ।

वल्र्ड लिंकको आर्थिक तथा प्राविधिक व्यवस्थापनका ती स्थानहरुमा फ्रि वाईफाई सेवाको व्यवस्था गरिएको हो। यी क्षेत्रमा मोबाईलमा अटोमेटिक वाईफाई कनेक्ट हुने व्यवस्था गरिएको छ।

सेवामा सबैको पहुँच पुगोस् भनेर एक पटक वाईफाई चलाउनेले ३० मिनेट सेवा लिएपछि सिस्टमले उसलाई त्यस दिन कनेक्सन हुनबाट रोक्नेछ। तर अर्को एक्सेस प्वाईन्टबाट सो सेवा लिन पाउने व्यवस्था गरिएको वल्र्ड लिंकका आयोजना प्रमुख लक्ष्मण यादवले जानकारी दिए।

प्रतिक्रिया