काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली महिलासँग विवाह गर्ने पुरुषलाई पनि नागरिकता दिनुपर्ने बताएका छन् । महिला र पुरुषबीच विभेदको रेखा कोर्न नहुने भन्दै बुधबार उनले संविधानले महिला र पुरूषबीच समानता सुनिश्चित गरेको स्मरण गराएका छन् ।
छोरालाई बढी र छोरीलाई कम अधिकार अहिलेको समय र समाजका लागि स्वीकार्य छैन, हुनु हुँदैन पनि’, सभापति देउवाले भनेका छन्, ‘नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलाले नागरिकता पाउने, तर नेपाली महिलासँग बिहे गर्ने विदेशी पुरुषले नागरिकता नपाउने गरी विभेदको रेखा कोर्नु हुँदैन ।’
महिलालाई दोस्रो दर्जाका नागरिक बनाउने गरी ल्याइएको प्रावधान संशोधन गरेर समान अधिकारको सुनिश्चित गर्नुपर्ने भन्दै उनले समानताको अवधारणा–मर्म अनुरुप नागरिकता विधेयक अघि बढाउन सत्तारूढ नेकपासँग माग गरेका छन् ।
बुधबार सामाजिक सञ्जाफ फेसबुकमा उनले लेखेका छन्,
महिला र पुरूषबीच विभेदको रेखा नकोरौँ
हाम्रो संविधानले महिला र पुरूषबीच समानता सुनिश्चित गरेको छ। छोरालाई बढी र छोरीलाई कम अधिकार अहिलेको समय र समाजका लागि स्वीकार्य छैन, हुनु हुँदैन पनि। नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलाले नागरिकता पाउने, तर नेपाली महिलासँग बिहे गर्ने विदेशी पुरुषले नागरिकता नपाउने गरी विभेदको रेखा कोर्नु हुँदैन ।
यसैले, महिलालाई दोस्रो दर्जाका नागरिक बनाउने गरी ल्याइएको प्रावधान संशोधन गरी लिङ्गको आधारमा विभेद नहुने, अनि समानताको अवधारणा–मर्म अनुरुप नागरिकता विधेयक अघि बढाउन म सत्तारूढ नेकपासँग माग गर्दछु ।
जय नेपाल।