काठमाडौं । वर्तमान सरकारको पालामा कतिसम्म भ्रष्टाचार भएको रहेछ भन्ने कुरा सत्तारुढ नेकपाकै एक प्रदेश सांसदको भनाइले पुष्टि गरेको छ । गण्डकी प्रदेश सांसद राजीव गुरुङ अर्थात् दीपक मनाङे जो आफैं विवादित पृष्ठभूमिका व्यक्ति हुन् । विगतमा गुण्डागर्दीमा संलग्न मनाङले देशमा भइरहेको भ्रष्टाचार देखेर आफू लज्जित भएको प्रतिक्रिया दिँदै गण्डकी प्रदेशको अर्थ तथा विकास समितिबाट राजीनामा दिएका छन् ।
मनाङेले जतासुकै भ्रष्टाचार नै भ्रष्टाचार भएको, पटक पटक रोक्न आग्रह गर्दा पनि कतै सुनुवाइ नभएको, सरकारमा जिम्मेवार नेताहरू नै भ्रष्टाचारमा लागेको प्रतिक्रिया दिएपछि प्रधानमन्त्री केपी ओली संकटमा परेका छन् । मनाङेले गण्डकी प्रदेशको विकृति र वेथितिबारे भने पनि समग्रमा देश यसरी नै चलिरहेको छ ।
स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको भन्दै संसद्को र्सावजनकि लेखा समितिले छानबिन गर्ने निर्णय गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि खरिदसम्बन्धी कागजात मगाइसकेको छ । तर, प्रधानमन्त्री केपी ओलीले भने अहिलेसम्म भ्रष्टातार भएको देखेका छैनन् ।
उनले आफ्नो सरकारको पालामा भ्रष्टाचार हुनै नसक्ने भन्दै दाबी गर्दै आएका छन् । नेकपाकै सांसद मनाङेले देशमा जताततै भ्रष्टाचार नै भ्रष्टाचार भएको देख्ने, तर प्रधानमन्त्री ओलीले कतै पनि भ्रष्टाचार भएको किन देख्न सकेनन् ? भन्ने प्रश्न आमसर्वसाधारणले उठाउन थालेका छन् ।