काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बिहीबार राष्ट्रिय सभा बैठकमा कोरोना बारे दिएको अभिव्यक्तिले यतिबेला सामाजिक सञ्जाल रंगिएका छन् । कोरोना हटाउन हाच्छ्ुयुँ गर्ने र बेसार पानी खाने भन्ने ओलीको अभिव्यक्तिलाई लिएर अहिले सबै वर्ग र क्षेत्रका मानिसले उनको आलोचना गरेका छन् ।
त्यति मात्र होइन, जन्डिस, सुत्केरी, रक्तअल्पता भएका मानिसले बेसार खानु हुँदैन भनेर प्रधानमन्त्रीले बोलेपछि चिकित्सकहरू नै चकित भएका छन् । डा.सुधांशु केसी, डा.रामेश कोइराला, डा.अभिषेक सिंहलगायतले ओलीको कटु आलोचना गरेका छन् । प्रधानमन्त्रीले बोलेलगत्तै बिहीबार नै केसी, कोइरालालगायतले यस्तो अफवाह फैलाउनेलाई के कारबाही हुन्छ ?
जन्डिस र सुत्केसीले बेसार खान हुँदैन भन्ने ओलीको भनाइमा प्रतिवाद गर्दै डा.केसीले यस्तो सफेद झूट नबोल्न आग्रह गरेका छन् । उनले यस्तो अफवाह फैलाउने माथि के कारबाही हुन्छ ? भनेर प्रश्नसमेत सोधेका छन् । डा.कोइरालाले पनि प्रधानमन्त्री ओलीले झूट बोलेर सबैमा भ्रम छरेको र यस्तो अफवाह फैलाउनेलाई के कारबाही हुन्छ ? भनेर सोधेका छन् । उनले प्रधानमन्त्री आफैं भ्रममा रहेको उल्लेख गरेका छन् ।
यदि बेसार खाएर कोरोना भगाउने हो भने अहिलेसम्मको लकडाउन किन ? १०औं अर्ब रुपैयाँ किन सिध्याइयो ? भनेर जनताले प्रधानमन्त्रीलाई प्रश्नसमेत सोधेका छन् । यसअघि पनि प्रधानमन्त्री ओलीले कोरोना भाइरसलाई फ्याटिए तत्व भएको र तातोपानीले हात धुनुपर्ने बताएका थिए । यस्तै, नेपालीको प्रतिरोधी क्षमता धेरै भएकाले सजिलै कोरोना परास्त गर्ने उनको दाबी थियो ।