काठमाडौँ । देशका प्रमुख शहरहरुमा युवाहरुले विरोध प्रदर्शन गरी सरकारले कोरोना नियन्त्रण गर्न खर्च गरेको भनिएको १० अर्ब रुपियाँको हिसाब मागी रहँदा प्रधानमन्त्री के पी शर्मा ओलीले त्यस्तो हिसाब अहिल्यै देखाउन नसकिने बताएका छन्।
बिहीबार राष्ट्रिय सभामा बोल्दै प्रधानमन्त्री ओलीले भने, “विश्वसँगै नेपाल पनि कोरोनाबाट आक्रान्त छ । देशभर क्वारेन्टाइन बनेका छन् । त्यहाँ बस्नेहरुलाई खुवाइएको छ। जनप्रतिनिधिले निकै दुःख गरेका छन् । जनप्रतिनिधिहरुले पैसा खाए भन्दिन सजिलो छ। त्यहाँ दु:ख गर्नेहरुको प्रशंसा गर्नुको सट्टा, कदर गर्नुको सट्टा, अपमान गर्ने ? १० अर्ब मध्ये केही विभिन्न निकायमा पठाइएको छ। त्यसको मसिनो गरी हिसाबकिताब आलेप, मलेपमा आउँछ। मान्छे काममा लागेका छन्, यहाँ कसैलाई चाहिँ हिसाब चाहिएको छ।”
खर्चको पूरा हिसाब किताब महालेखा र आन्तरिक लेखा परीक्षणले हेर्ने भन्दै प्रधानमन्त्री ओलीले सबैलाई कोरोना नियन्त्रणमा सरकारलाई सहयोग गर्न पनि आग्रह गरे ।
१४ खर्बको सम्पूर्ण हिसाबकिताब संसदमा आउँछ
बिहीबार राष्ट्रियसभा बैठकमा सांसदहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणमा खर्च भएको हिसाब–किताब मात्रै नभएर सरकारले बजेट प्रस्तुत गर्दाको १४ खर्बकै सम्पूर्ण हिसाब किताब संसद्मा ल्याउने बताए।
प्रधानमन्त्री ओलीले भने, ‘कोरोना नियन्त्राणमा कति खर्च भयो भन्ने विषयमा मात्रै नभइ सम्पूर्ण बजेट १४ खर्बको हिसाब सदनमा आउँछ ।’ ओलीले सरकारमा भएकाको चरित्र हत्या गर्नैपर्छ भन्ने मानसिकताले पनि यस्तो भएको आरोप लगाए।
‘२० होइन तीन जनाको मात्र कोरोनाले मृत्यु’
प्रधानमन्त्री ओलीले नेपालमा हालसम्म २० नभइ तीन जनाको मात्रै कोरोनाबाट ज्यान गएको बताए । राष्ट्रियसभामा बोल्दै ओलीले विश्व स्वास्थ्य संगठनको निर्देशन मान्नु परेकाले नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ठूलो देखिएको बताए ।
प्रधानमन्त्री अोलीले भने, “नेपालमा दुई तीन जनामा त्यस्तो घटना भएको होला बाँकीको अन्य कारणले नै मृत्यु भएको हो, तर पछि कारोनाले छोएको अवस्था हो । यसलाई खासमा कोरोनाबाटै ज्यान गएको भन्न मिल्दैन ।”
एमसीसी सम्झौता नबुझी अमेरिकी सेना आउने हल्ला
प्रधानमन्त्री ओलीले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संग भएकाे सम्झौता नपढीकनै अमेरिकी सेना आउने हल्ला गरिएको पनि बताए । सांसद्हरुले राखेका प्रश्नको जवाफ दिँदै ओलीली एमसीसी नपढी अमेरिकी सेना नेपालमा आउने भन्ने लगायतका अफवाह फैलाइएको बताए ।
ओलीले भने, “हल्लाका भरमा एमसीसी यस्तो उस्तो भन्ने, खुट्टाले टेक्न छोडेर टाउको र हातले टेकेर नहिँड्नुस् । सम्झौतामा जे प्रबन्ध छ त्यसमा भएको ठिक बेठिक छुट्याएर हेर्नुस् । लहेलहैमा अमेरिकी सेना नेपाल आउँछ भन्दै हिँड्ने ? हामीलाई देशको माया छैन ?”
उनले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका क्षेत्र समेटिएको नक्सा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा राख्ने गरी लागि ल्याइएको संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित गरेकोमा राष्ट्रियसभाका सदस्यहरुलाई धन्यवाद पनि दिएका थिए।