काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँग नेपालले दुष्मनी नचाहेको बताएका छन् । नेपालको संविधान संशोधन विधेयक २०७७ माथिको छलफलमा भाग लिँदै शनिबार संसद बैठकमा उनले नेपालले भारतसँग दुष्मनी नभएर मित्रवत व्यवहार चाहेको जानकारी गराए । उनले चीनसँग पनि मित्रवत व्यहवहारको अपेक्षा गरेको बताए ।
संविधान संशोधन गर्दा वा नक्सा जारी गरेर भारतसँग सम्बन्ध बिगार्न नचाहेको भन्दै उनले भारत वार्तामा बस्न नचाहँदाको परीणाम भएको बताए । नेपालमा राजनीतिक दलहरुको एकता भारतविरुद्ध नरहेको भन्दै उनले भारतले नेपालको भावनाको कदर गर्नुपर्ने बताए । नेपाली राजनीतिक दल राष्ट्रिय मुद्दामा एकजुट हुने सन्देश प्रवाह गरेको भन्दै उनले इतिहासमा पनि यस्तो रहेको बताए । भारतीय नेता तथा सरकार र त्यहाँका सञ्चारमाध्यमहरुले नेपालको भावना र संवेदनशीलतालाई ध्यान दिन प्रचण्डले आग्रह गरेका छन् ।
नेपालमा विदेशी हस्तक्षेपसहित मुलुकभित्रकै निरकुंशता र यसबाट सृजित व्यवस्थालाई चिर्नुपर्ने दायित्व र चुनौती रहेको उनको भनाइ छ । सरकारले अहिले ल्याएको नेपालको संविधान संशोधन विधेयक ल्याउनु पनि भारतीय हस्तक्षेपविरुद्धको महत्वपूर्ण कदम रहेको भन्दै उनले भारतसँग कूटनीतिक सम्वाद र छलफलबाट सीमा विवाद अन्त्य गर्नुपर्ने बताए ।
सुस्ता, कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई विवादित क्षेत्रको रुपमा भारतले पनि स्वीकारेको भन्दै उनले राष्ट्रियताका विषयमा दलहरुको एकता रहेको बताए ।
गत नोभेम्बरमा आफ्नो नक्सा जारी गर्दा भारतले काश्मीरलाई समेट्दा नेपालको भूमि समेटिएपछि नेपालमा विरोध भएको भन्दै उनले नक्सा जारी गर्दैमा सीमा विवाद अन्त्य नहुने भएकाले सम्वाद र छलफल गर्नुपर्ने बताए । अहिले पनि प्रचण्डले संसदमा सम्बोधन गरिरहेका छन् । उनले नेपाल गणतान्त्रिक व्यवस्थाविरुद्ध कुनै कदम हुन नसक्ने बताए । राजतन्त्रले गुमाएको जग्गा गणतन्त्रले फिर्ता ल्याएको छ, होसियार’, प्रचण्डले भनेका छन् । उनले धमिलो पानीमा माछा मार्न नखोज्न आग्रह गरे ।
सरकारले नयाँ नक्साअनुसार निशान छाप परिवर्तनका लागि नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ पेश गरेको थियो । सो विधेयक शनिबार पारित गर्ने तयारी गरिएको छ ।