नयाँ दिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको मङ्गलबार कोभिड–१९ परीक्षणका लागि नमूना सङ्कलन गरीएको थियो ।
आइतबारदेखि हल्का ज्वरो र घाँटी दुख्ने समस्याजस्ता कोभिड–१९ का विरामीसँग मिल्ने लक्षणहरू देखिएपछि केजरीवाल सोमबारदेखि सार्वजनिक कार्यक्रममा सहभागी भएका छैनन् । उनि समुदायबाट अलग बसेका थिए ।
आइतबार दिउसो ज्वरो आएपछि ५१ वर्षीय केजरीवालले तत्कालका सार्वजनिक बैठकका कार्यक्रमलाई स्थगित तथा रद्द गरेका थिए । समाचार एजेन्सी पीटीआईका अनुसार दिल्लीका मुख्यमंत्री अरविन्द केजरीवाल कोविड १९ जाँचमा नकरात्मक भेटिएका छन् । अर्थात उनी कोरोना भाइरसबाट संक्रमित छैनन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार दिल्लीमा मङ्गलबारसम्ममा २९ हजार ९४३ व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएका छन् भने ८७४ सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ ।दिल्लीमा उपचारपछि घर फर्किने विरामीको सङ्ख्या ११ हजार ३५७ रहेको छ भने हाल १७ हजार ७१२ सङ्क्रमित व्यक्तिले विभिन्न अस्पतालहरूमा सेवा लिइरहेका छन् ।