२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

जनता समाजवादी पार्टीमा तीन अध्यक्ष

1274 Shares
Spread the love

काठमाडौं। समाजवादी पार्टी र राजपा मिलेर गठन भएको जनता समावादी (जसपा) मा तीन जना अध्यक्ष राख्ने सहमतिसँगै विवाद मिलेको छ। एकता घोषणा गरिएको ४५ दिनपछि तीन जना अध्यक्ष राख्ने गरी सहमति भएको हो।

उपेन्द्र यादव र महन्थ ठाकुर कार्यकारी अध्यक्ष र डा. बाबुराम भट्टराई संघीय परिषद अध्यक्ष रहने गरी सहमति गरिएको समाजवादी पार्टीका प्रवक्ता प्रकाश अधिकारीले जानकारी दिए।

‘एकीकृत पार्टीमा तीन जना अध्यक्ष रहने गरी सहमति भएको छ,’ प्रवक्ता अधिकारीले डिसी नेपालसँग भने, ‘कार्यकारी अध्यक्षमा उपेन्द्र यादव र महन्थ ठाकुर अनि संघीय परिषद अध्यक्षमा बाबुराम भट्टराई रहने गरी सहमति भएको छ।’

यसैगरी ५१ सदस्यीय पदाधिकारी राख्ने सहमति पनि भएको छ। नेतृत्वमा सहमति भएसँगै आजै निर्वाचन आयोगमा निवेदन दर्ता गर्न जाने अधिकारीले जानकारी दिए। दुई दलबीच वैशाख १० गते एकीकरण गर्ने सहमति भएको थियो।

राजनीतिक दल सम्बन्धी ऐनमा एकीकरण वा गाभिने घोषणा गरेको ४५ दिनभित्र सम्झौताको प्रतिलिपी संलग्न गरेर निर्वाचन आयोगमा निवेदन दिनुपर्ने व्यवस्था छ। जसपाले सम्झौता गरेको शनिबार ४५ दिन पुगेको थियो।

प्रतिक्रिया