
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले सरकारलाई जनताको भन्दा महलमा बस्नेका लागि मात्र चिन्ता भएको बताएका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा सांसद रिजालले जनता कसरी ज्यान जोगाउने भन्ने चिन्तामा परेका बेला सरकारमा बसेकाहरु भने ठूलाठूला महलमा कार्पेट फेर्नमा मस्त रहेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।
‘अहिले जनता कोरोनाबाट कसरी उम्कने भन्नेमा छन । बाहिर बसेका नेपालीहरु कसरी देशमा फर्कने भन्ने चिन्तामा छन । अनि सरकारमा बसेकाहरु कसरी कार्पेटको व्यवस्था गर्ने भनेर मस्त छन् । कार्पेटको व्यवस्था गर्दै छ सरकार ।
अनि सत्तारुढ दलका अरु मानिसहरु सत्ताको बाँसुरी, सत्ता सम्भावनाको कुन धुनमा बजायो भने राम्रोसँग बज्छ भनेर प्रयत्न गरिरहेका छन । यो भन्दा हास्यास्पद केही हुन सक्दैन,’ रिजालले भने । नेता रिजालले सरकारमा बस्नेहरुमा इमान्दारिता नै नभएको आरोप पनि लगाए ।