काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषदको बैठकले लकडाउनको मोडालिटिको बारेमा छलफल गरेको छ । बिहीबार साँझ बसेको मन्त्रीपरिषद बैठकमा लकडाउनको मोडालिटिबारे छलफल भएर बैठक सकिएको हो ।
मन्त्रिपरिषद बैठकले केरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई २/४ दिन भित्र लकडाउन मोडालिटिको बारेमा कार्ययोजना बनाएर ल्याउन निर्देशन दिएको छ। स्रोतले भन्यो फेरी बस्ने मन्त्रिपरिषद्को बैठकले मोडालिटिको बारेमा निर्णय गर्ने छ ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले गत चैत ११ गदेदेखि लकडाउन गरेको हो । लामो समयसम्म लकडाउन रहिरहँदा अवज्ञा र विरोध हुन थालेको छ। पटक–पटक थपिएको लकडाउन पछिल्लो पटक जेठ ३२ गतेसम्मका लागि कायम भएको छ।
यसअघि, प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारमात्र लकडाउनको मोडालिटिबारे विभिन्न क्षेत्रका विज्ञहरुसँग छलफल गरेका थिए । विज्ञहरुको सुझावलाई आधार मानेर लकडाउनको मोडालिटि हेरफेर हुने उनले विश्वास दिलाएका थिए ।
उच्चस्तरीय समन्वय समितिले स्वास्थ्य विज्ञहरुसँग जनजीवन सहज बनाउनेगरी लकडाउन खोल्ने सम्वन्धमा छलफल गरेको थियो। विज्ञहरुले आवश्यक मापदण्ड तथा सतर्कता अपनाउँदै जोखिम कम भएका क्षेत्रमा लकडाउन खोल्न सकिने सुझाव दिएका थिए।