एजेन्सी,। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प ह्वाइट हाउसमै बंकरभित्र लुक्नु परेको छ । हाल अमेरिकामा भइरहेको जातीय हिंसाविरुद्धको प्रदर्शनमा ह्वाइट हाउस अगाडी भएको विरोध प्रदर्शनले उग्र रूप लिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बंकरमा लगेर राखिएको खुलासा भएको हो ।
ह्वाइटहाउस अगाडि शुक्रबार रातभर भएको प्रदर्शनमा प्रदर्शनकारीले ढुङ्गामुढा गर्न थालेपछि उनलाई गुप्त सेवाका अधिकरीहरले सुरक्षाका लागि बंकरमा लगेको खुलेको हो ।
समाचार संस्था एसोसियट प्रेसका अनुसार आतंकवादी समूहको हमला वा आपतकालिन सेवाको लागि बनाइएको बंकरमा ट्रम्पलाई एक घन्टा राखिएको हो । यद्यपि, ह्वाइट हाउसले भने ट्रम्पलाई बंकरमा राखिएको विषलाई पुष्टि गरेको छैन ।
समाचार संस्था सिएनएनले त बंकरमा ट्रपकी पत्नी मेलिनिया र छोरालाइ पनि बंकरमा लगिएको दाबी गरेको छ । बेलायती मिडिया द गार्डियनले भने ट्रम्पले भागेरै बंकरमा शरण लिएको लेखेको छ । सामाजिक संजालमा पनि कैयौं अभियन्ताहरुले ट्रम्प भागेको र लुकेको उल्लेख गरेका छन् । रिपोर्टका अनुसार शुक्रबार राती सिक्रेट सर्भिसका एजेन्टहरुको सल्लाहपछि ट्रम्प बंकरमा गएका थिए । उनले करिब १ घण्टा बंकरमा बिताए । प्रदर्शनकारीहरु पछिल्लो एक साताको अवधिमा लगातार बढ्दै गएका छन् । शनिबार अमेरिकाका करिब २५ ठूला शहरमा कर्फ्यू लगाइएको थियो तर प्रदर्शनकारीहरुले कर्फ्यूको समेत अवज्ञा गरेका छन् ।
ह्वाइट हाउसका प्रवक्ता जुड डिरीले ह्वाइट हाउसले सेक्युरिटी प्रोटोकलका त्यस्ता निर्णयबारे टिप्पणी नगर्ने बताएका छन् । राष्ट्रपति ट्रम्प बंकरमा लगिएको बारेमा अमेरिकी समाचार संस्थाहरु सबैजसोले खबर दिएका छन् ।
गुप्त सेवाका अधिकारीहरुले प्रदर्शनकारीलाई पन्छाएपछि ट्रम्पले गरेका एकपछि अर्का ट्वीटहरु निकै आक्रोशित थिए । उनले प्रदर्शनकारीलाई कथितको संज्ञा दिँदै विरोध उग्र बनाइरहे शिकारी कुकुर र घातक हतियार प्रयोग गरिने चेतावनीसम्म दिएका थिए ।
मिनिसोटा राज्यको मिनियापोलिसमा गत सोमबार प्रहरीको यातनामा एक अश्वेत जर्ज फ्लोयड मारिएपछि अहिले अमेरिकाभर आगो सल्केको छ । ठूला ३० शहरमा प्रदर्शन भएको छन् प्रायशः शहरहरुमा प्रदर्शन उग्र बन्न थालेपछि कर्फ्र्यू आदेश जारी गरिएको छ ।
प्रहरीले फ्लोयडलाई भुईमा लडाएर घुँडा घाँटी थिच्दा उनी श्वास फेर्न नसकेर उनको मृत्यु भएको भिडियो सार्वजनिक भएपछि विरोध देशैभर फैलिएको हो । यद्यपि, उक्त घटनामा सामेल प्रहरी अधिकारीलाई नियन्त्रणमा लिएर थर्ड डिग्री हत्याको मुद्दा दर्ता गरिएको छ ।