काठमाडौं । लकडाउनको आज ६७औ दिन । देश कोरोना महामारीसँग जुधिरहेको छ । एक साताअघिसम्म चार सयको हाराहारीमा रहेका कोरोना संक्रमितको संख्या अहिले तीन सय प्रतिशतले बढेर १२ सय टपेको छ । संक्रमितको वृद्धिदर हेर्दा जेठ महिनाभित्रै पाँच हजार नाघ्ने प्रक्षेपण गर्न थालिएको छ ।
देश नै विपतसँग लडिरहेका बेला राजनीतिक घटनाक्रम करिब करिब शून्यको अवस्थामा पुगेको छ । एक महिनाअघिसम्म नेपालको राजनीति उत्कर्षमा पुगेको छ । खासगरी प्रधानमन्त्री केपी ओलीले ल्याएका दुई अध्यादेश र नेकपाका उपाध्यक्ष वामदेव गौतमले भावी प्रधानमन्त्रीमा दाबी गरेपछि केही दिनसम्म कोरोना महामारी छायाँमा परेको थियो । यी सबै घटनामा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकै चर्चामा थिए । तर, केही समययता प्रचण्ड र नेपाल मौन देखिएका छन् ।
लिम्पियाधुरा, कालापानी र लिपुलेक जस्ता नेपाली भूमि समेटेर नेपालको नयाँ नक्सा जारी भएपछि प्रधानमन्त्री केपी ओली पुनः पार्टीमा बलियो बनेका छन् । नाकाबन्दीकै बेला जस्तो राष्ट्रवादी हाइट ओलीले बनाएपछि प्रचण्ड र नेता नेपाल रक्षात्मक अवस्थामा पुगेका छन् । तर, हरेक समय राजनीतिको केन्द्रविन्दुमा छाइरहने प्रचण्ड के त्यत्तिकै चुपचाप बसेका होलान् त ? स्रोतका अनुसार प्रचण्ड अहिले मौन जस्तो देखिएका मात्र हुन् । आगामी साउनसम्ममा देखिने गरी नेपालको राजनीतिमा केही परिवर्तन गर्ने गृहकार्यमा उनी लागेको खुमलटार स्रोतले बतायो ।
नेपाल–भारत सीमा विवाद, कोरोना भाइरस नियन्त्रण र अध्यादेश प्रकरणले नेकपाभित्रको शक्ति सन्तुलन परिवर्तन हुने सम्भावना बढ्दै गएको छ । ओलीले जनअपेक्षाअनुसारको काम गर्न नसकेको, महत्वपूर्ण इस्युलाई नजरअन्दाज गर्दै अर्कै इस्युमा केन्द्रीत भएको भन्दै सरकारको नेतृत्व परिवर्तन गर्नुपर्ने पक्षमा खुमलाटार लागेको स्रोतको भनाइ छ । त्यसका लागि प्रचण्ड, वरिष्ठ नेताद्वय माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतको टिम अहिले पनि सक्रिय रहेको बुझिएको छ । कोरोना महामारी र भारतसँगको सीमा विवाद अलिअलि मत्थर हुनेवित्तिकै नेकपामा नयाँ शक्तिको उदय हुने नेताहरूको बुझाई छ ।
ओलीले २०७४ सालको निर्वाचनमा जाँदा पार्टीले बनाएको घोषणापत्रमा उल्लेख गरिएका प्रतिवद्धता कार्यान्वयन गर्न नसकेको, पार्टी र सरकारमा सन्तुलन मिलाउन नसकेको, राजनीतिक नियुक्तिमा दक्ष, सक्षमलाई भन्दा पनि आफ्ना निकटस्थलाई भर्ती गरेको, विश्वव्यापी महामारीका रुपमा फैलिएको र नेपाल पनि अछुतो नरहेको कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको विषयलाई एजेन्डाका रूपमा लैजाने तयारी भइरहेको छ ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भइसकेकाले चाँडै संसदबाट पारित गरेर केही दिनभित्रै नेकपाको स्थायी कमिटी बोलाउने रणनीतिसाथ प्रचण्डहरू अघि बढेका छन् । तर, ओली भने असारसम्म लकडाउन बढाएर केही समय आरामसँग बस्ने रणनीतिमा लागेका छन् । प्रचण्डलाई पार्टीको कार्यकारी जिम्मेवारी दिएर माधव नेपाललाई सरकारको जिम्मेवारी दिने गरी पुनः नेताहरूले एक्सरसाइज सुरु गरेको बताइन्छ ।