२०८२, ११ बैशाख बिहीबार
×

ट्रेन्डिङ

काममा फर्किए ब्रिटिश प्रधानमन्त्री जोन्सन

1734 Shares

लन्डन । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण एक महिना लामो उपचार र आराम पछि ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सन काममा फर्किएका छन् । प्रधानमन्त्री जोन्सनले कोरोना भाइरस संक्रमणका कारण अहिले युके अत्यधिक जोखिममा रहेको भन्दै बन्दाबंदीका कारण धैर्य न गुमाउन देशवासीहरुलाई अपिल पनि गरे ।

देशले विश्वयुद्धपछि सबैभन्दा ठूलो समस्याको सामना गरिरहेको भन्दै उनले कठिन समयमा आआफ्नो तर्फबाट सहयोगी भूमिका खेल्ने सबैको योगदानको प्रशंसा गरे । अस्पतालहरुमा अत्यावश्यक औषधिहरुको अभाव भै रहेको, सरकारले भने अनुसार टेस्टीङ्ग गर्न नसकेको, अर्थतन्त्रलाइ चलायमान बनाउन ठोस योजना नल्याएको आदि आलोचना भै रहेका बेला प्रधानमंत्री जोन्सन काममा फर्केका हुन् ।तर उनले तत्काल लकडाउन हटाउने वा खुकुलो पार्ने सम्भावना नरहेको बताए ।

‘मलाई थाहा छ यो कठिन छ । म हाम्रो अर्थतन्त्र सकेसम्म छिटो सुचारु होस् भन्ने चाहन्छु। तर म सबै बेलायती जनताले अहिलेसम्म गरेको त्यागलाई खेर जान र महामारीको दोस्रो पिक आउन दिन चाहन्नं,’ उनले भने। स्थितिमा सुधार आएपछि ‘लकडाउन’ कसरी खुकुलो पार्दै जाने भन्नेबारे सरकारले पारदर्शी रुपमा सबैलाई जानकारी गराउने पनि उनले बताए ।

गत मार्च २७ मा कोरोनाको संक्रमण देखिएका ५५ वर्षीय प्रधानमंत्री जोनसनलाई लन्डनस्थित सेन्ट टोमस अस्पतालमा भर्ना गरिएको थियो । उनलाई तीन रातसम्म ‘इन्टेसिभ केयर युनिट’ मा राखिएको थियो । अप्रील १२ मा डिस्चार्ज भए यता उनी बकिंगहमशायरस्थित आफ्नो सरकारी निवासमा आराम गर्दै आएका थिए ।

नेपालकी राष्ट्रपति विद्या भण्डारी तथा प्रधानमंत्री के पी शर्मा ओलीले छुट्टाछुट्टै संदेश पठाइ प्रधानमंत्री जोनसनको शिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए । पब्लिक हेल्थ इंगल्याण्डका अनुसार शनिवार, २५ एप्रिलसम्ममा ब्रिटेनमा १५२,८४० जना कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएकोमा २०,७३२ जनाको ज्यान गैसकेको छ ।

प्रतिक्रिया