२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

कम्प्यूटरको किबोर्डमा खेल्दै जनप्रतिनिधि

1843 Shares
Spread the love

कम्प्यूटर चलाउन सिक्दै जन्तेढुंगाका जनप्रतिनिधि एवं कर्मचारी ।


खोटाङ – ‘हामी नेपाली हो। हाम्रो देश नेपाल हो।’ उल्लेखित वाक्य कुनै आख्यानबाट लिइएको होइन। कम्प्यूटर कक्षामा सहभागी बनेका खोटाङको जन्तेढुंगा गाउँपालिका–१ देबिस्थानका वडाध्यक्ष केदार राईले निकै समय र मेहनत लगाएर कम्प्यूटरको स्क्रीनमा टाइप गरेका शब्द हुन्।

स्थानीय चिसापानी माबिमा सञ्चालन भइरहेको निःशुल्क कम्यूटर कक्षामा वडाध्यक्ष राईको बुधबार बिहान ७ बजेदेखि ९ बजेसम्मको समय त्यही वाक्यलाई पूरा गर्नमै बित्यो। यस्तै, छेउमै बसेका जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका वडाध्यक्ष रामकुमार श्रेष्ठ पनि अंग्रेजी फन्टमा कम्प्यूटरको किबोर्ड मनपरी थिचिरहेका थिए। वडाध्यक्ष श्रेष्ठको अभ्यास किबोर्डमा औंलालाई ठीक तरिकाले चलाउने अभ्यासमै केन्द्रीत थियो।

कम्यूटर सिक्नमै तल्लिन जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयका वडाध्यक्ष बिदुरमान राईले कहिल्यै नगरेको काम गर्दा उत्साह भएपनि अप्ठ्यारो महसुस भइरहेको बताए। ‘कहिल्यै नगरेको काम,’ वडाध्यक्ष राईले भने, ‘एकदमै गार्हो भइरहेको छ। सिकेको कुरा भुलिहालिँदो रहेछ।’ गाउँपालिका र वडा कार्यालयका जनप्रतिनिधि एवं कर्मचारीको कम्प्यूटर सम्बन्धी क्षमता अभिवृद्धिका लागि जन्तेढुंगा गाउँपालिकाले आयोजना गरेको निःशुल्क कम्प्यूटर कक्षामा वडाध्यक्ष, वडा सदस्यदेखि कर्मचारीले दैनिक कम्यूटर चलाउने अभ्यास गरिरहेका छन्।

गत भदौ १ गतेदेखि सुरु गरिएको १५ दिने तालिममा कुनै वडाध्यक्ष फाइल क्रियट गर्ने अभ्यास गरिरहेका देखिन्छन्। कुनै वडाध्यक्ष÷सदस्य टाईप गर्न सिकिरहेका देखिन्छन्। अलमल भएपछि प्रशिक्षकलाई बोलाउँछन् र प्रशिक्षकले भने अनुसार कम्प्यूटर चलाउने प्रयास गर्छन्, गरिरहेका छन्। जन्तेढुंगा गाउँपालिकामा ६ वटा वडा छन्। त्यी सबै वडाको काम कम्प्यूटरबाट सञ्चालन गर्ने र वडाको गतिविधिलाई इमेलममार्फत गाउँपालिकासम्म पठाउन सक्ने क्षमता विकासका लागि कम्प्यूटर कक्षाको आयोजना गरिएको हो। कम्प्यूटर चलाउन दक्ष जनप्रतिनिधि भने तालिममा सहभागी छैनन्।

जनप्रतिनिधि र कर्मचारीलाई कम्तीमा नेपाली र अंग्रेजी टाईप गर्न, इमेल पठाउन र प्राप्त गर्ने क्षमता विकासका लागि निशुल्क कम्प्यूटर कक्षाको व्यवस्था मिलाइएको जन्तेढुंगा गाउँपालिकाका प्रमुख शंकर राईले बताए। ‘अबका जनप्रतिनिधिले समय अनुसार काम गर्न सक्नु पर्छ,’ गाउँपालिका प्रमुख राईले भने, ‘वडाको कामलाई कम्प्यूटर र इन्टरनेटका माध्यम गर्न लागि जनप्रतिनिधि र कर्मचारीको क्षमता विकासका लागी कम्प्यूटर सम्बन्धी तालिमको आयोजना गरिएको हो।’ कतिपय जनप्रतिनिधिले कम्प्यूटर कक्षाको समय थप गर्नुपर्ने बताइरहेका छन्।

प्रतिक्रिया