काठमाडौं। नेपाली काँग्रेसको १३ औं महाधिवेशनबाट अस्तित्वमा आएको कृष्णप्रसाद सिटौलाको समूह कहिले सभापति शेरबहादुर देउवा नजिक त कहिले वरिष्ठ नेता रामचन्द्र पौडेल नजिक हुँदा आफ्नो अस्तित्व गुमाएको सिटौला समूह पार्टीको १४ औं महाधिवेशनको मिति नजिकिँदै जाँदा फेरि सक्रिय हुन थालेको छ।
पार्टीको केन्द्रीय कार्यसमिति बहिस्कार गर्ने पौडेल समूहको अडानमा ऐक्ववद्धता देखाएको सिटौला समूह हालै देउवाले एकलौटी रुपमा विभाग गठन गरेकोप्रति समर्थन जनाएपछि सो समूह फेरि देउवासँगै गाभिने अनुमान गरिएको थियो। तर, सिटौलाले सोमबार आफू निकटहरुको भेला गरेका छन्।
सोमबार राजधानीमा आफ्नो गुटको भेलामा सम्बोधन गर्दै सिटौलाले नेतृत्वले गरेको फोहोर सफा गर्न सबै युवा नयाँ सोचका साथ अगाडि बढ्नुपर्ने बताएका छन्। सम्बोधनका क्रममा सिटौलाले अहिले कांग्रेस राजनीतिक समाजमा ‘झिँगो’ स्वभावबाट अगाडि बढिरहेको टिप्पणी गरे।
नेतृत्वलाई फोहोर झिँगासँग तुलना गर्दै सिटौलाले भने, ‘हेर्दा मौरी र झिँगा उस्तै देखिन्छ । एउटाले फोहोर छर्दै हिन्छ । एउटाले फुलको रस बटुल्दै हिन्छ । एउटाको परोपकारी गुण छ । एउटाको ध्वंशकारी गुण छ ।’ प्रत्येक तहमा रहेका युवाहरुसँग फरक फरक क्षमता रहेको उल्लेख गर्दै सिटौलाले सबैको क्षमता बटुल्दै कांग्रेसलाई परिवर्तनशिल बनाए। परिवर्तित कांग्रेसको काँधमा कम्युनिष्टसँग लडेर व्यवस्थालाई बलियो बनाउने अभियानमा लाग्न उनले आग्रह गरे। आगामी निर्वाचनमा सफलता शिखरसम्म पुग्ने अर्जुनदृष्टिका साथ तयारी गर्न उनले आग्रह गरे।
नेता गगन थापाले पार्टी नेतृत्वको अहिलेसम्म कृयाकलापले तोकिएको समयमा महाधिवेशन हुन नसक्ने सम्भावना बढेर गएको बताए। नेतृत्वको सफलता असफलता तोकिएको समयभित्र अधिवेशन गर्ने कुराले निर्धारण गर्ने उल्लेख गर्दै थापाले पार्टीको विधान अनुसार भूमिका निर्वाह गर्न सबैमा आग्रह गरे। महाधिवेशनको वातावरण बनाउने काम सभापति र महामन्त्रीको भएको थापाको भनाई छ । जिल्लाहरुको समायोजन समयमै सक्न महामन्त्री खट्न नसकेको आरोप पनि उनले लगाए।
थापाले भने, ‘महामन्त्री सचिवालयको प्रमुख हो । यस बेलामा पार्टीको महामन्त्रीले जिम्मा लिएर पार्टी कार्यालयमा गएर त्यहाँबाट महामन्त्रीको भूमिका निर्वाह गर्नुपर्ने हो । समायोजनको कुरा आयो ३०, ३२ जिल्ला बाहेक समायोजन भएन भनेर भन्न मिल्छ ? समायोजन हुन सकेको छैन् भने सातै दिन २४ घण्टा नै पार्टी कार्यालय जानुप¥यो त्यहाँ बस्नुप¥यो । प्रतिनिधि पठाएर काम गर्नुप¥यो । यति समयसम्म मलाई काम चाहिन्छ भन्नुप¥यो ।’
काठमाडौंको बत्तिसपुतलीमा भएको भेलामा २ सयभन्दा बढी नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । भेलामा नेताहरुले आफुहरु कांग्रेसमा सुधार गर्दै अगाडि बढ्ने अभियानमा रहेको बताएका छन्।