काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस भित्र आन्तरिक विवाद चर्किएको छ। पार्टी सभापति शेरबहादुर देउवाले नवलपरासी (बर्दघाट पश्चिम)मा नयाँ पार्टी सभापति तोकेपछि काँग्रेसमा पछिल्लो विवाद शुरु भएको हो।
यो विषयमा सभापति देउवाले अवैधनिक काम गरेको भन्दै महामन्त्री कोइरालाले सभापति देउवालाई पत्र लेखेरै असन्तुष्टि व्यक्त गरेका छन्। उनले सभापति देउवालाई ५ बुँदे सुझावसमेत दिएका छन्।
महामन्त्री कोइरालाले १३ औं महाधिवेशनपछि पार्टीलाई एक ढिक्का बनाउन साथीहरुको आलोचना सहेर पनि सभापति देउवालाई सहयोग गरेको तर, सभापतिका पछिल्ला गतिविधि स्वीकार गर्न सकिने खालका नभएको बताएका छन्।
महामन्त्री कोइरालाले सभापति देउवा एक्लै अगाडि बढेको भन्दै त्यसले घोषित महामधिवेशन निश्पक्ष हुनेमै आशंका उत्पन्न भएको बताएका छन्। उनले महाधिवेशन सबैको साझा भएको भन्दै यसमा सबै कार्यकर्ताले उत्साहका साथ भाग लिन पाउने वातावरण बन्नुपर्नें भन्दै सभापति देउवालाई एक्लै अगाडि नबढ्न भनेका छन्।
सभापति देउवाले एकलौटी रुपमा पछिल्लो पटक पार्टीका विभाग गठनदेखि नयाँ केन्द्रीय सदस्य मनोनितसम्म गरेका छन्। काँग्रेसको आगामी १४ औं महाधिवेशन आगामी वर्षको फागुनमा गर्ने निर्णय भइसकेको छ। सभापति देउवाले महाधिवेशनको मिति तय भइसकेपछि पार्टीमा भटाभट नियुक्ती गर्न थालेपछि आन्तरिक विवाद चुलिएको छ।

