काठमाडौं। पूर्व पञ्चहरु मिलेर बनेका दुई वटा राप्रपाहरु बुधबार एकीकरण भएका छन्। कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर तथा प्रकाश चन्द्र लोहनीले नेतृत्व गरेको राप्रपा सँयुक्तबीच पार्टी एकीकरण भएको बुधबार राजधानीमा एक कार्यक्रम गरी घोषणा गरियो। ६ पटक फुटेको राप्रपाको यो पाँचौ जुट हो। त्यसैले अझै पनि पार्टी फुट्नेको होकी भन्ने भुतले तर्साइरहेको छ। पार्टी एकीकरणको घोषणा गर्दा पनि पार्टी नफुट्ने प्रष्टीकरण दिनु परेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टी नफुटाउने र पार्टीलाई फुट्न नदिने कसम खाए। बुधबार राष्ट्रियसभागृहमा राप्रपा र राप्रपा संयुक्तको एकता घोषणासभामा अध्यक्ष थापाले गीता हातमा राखेर पार्टी फुट्न नदिने कसम खाए।
‘कहिले पनि पार्टी फुटाउने छैन् । तपाईहरुलाई विश्वास लागने यो गीता हातमा राखेर कसम खान्छु राप्रपालाई कदापी फुट्न दिने छैन्’, गीता हातमा राख्दै थापाले भने। अध्यक्ष थापाले पार्टी एकताबाट आफू सन्तुष्ट र खुसी रहेको उल्लेख गर्दै फेरी कहिले नफुट्ने र नअलग्गिने संकल्प लिएर एक भएको बताए।
विगतमा पार्टी विभाजनपछि भोग्नुपरेका पीडाहरु शब्दमा बयान गर्न नसकिने थापाले बताए। उनले विगतमा पार्टी कसले र किन फुटायो भनेर आरोप प्रत्यारोप गर्नुभन्दा नयाँ संकल्प र नयाँ उत्साहका साथ अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए।
अध्यक्ष थापाले पार्टी फुट्छ की भन्ने विगतको द्विविधा र आशंकालाई हटाउनुपर्ने बताए। उनले पार्टी फुट्ने अनावश्यक र नकारात्मक सोचबाट मुक्त हुन पनि आग्रह गरेका छन्। उनले भने, ‘पार्टी एकता हुन पाएको छैन फेरी फुट्छ की भन्ने चिन्ताबाट मुक्त हुनुहोस्। यसले हामीलाई सिथिल बनाउँछ । अब फुट्दैन र फुट्न दिन्नौँ भन्ने प्रतिज्ञा गरेर अगाडि बढ्नुपर्छ । स्वाभिमानी कार्यकर्ता हुने हो भने तपाईहरुले पनि संकल्प गर्नुप¥यो, नेताको पछाडी होइन नीतिको पछाडी र व्यक्तिको पछाडी होइन विचारको पछाडी लाग्नुपर्छ भन्ने भावनाको विकास गर्नुपर्छ ।’
अध्यक्ष थापाले पार्टी एकतापछि आफ्नो बोझ केही कम भएको समेत बताए। ‘विगतमा पार्टी अध्यक्षको हैसियतमा एक्लैले बोक्नुपरेको भार अहिले साथीहरुसँग सेयर गर्ने अवशर मिलेको छ’, थापाले भने।
अध्यक्ष थापाले एकता विदेशी वा स्वदेशी शक्तिको प्रभाव र दबावमा नभएको बताए। पार्टी कार्यकर्ता र शुभचिन्तकहरुको दबाव र प्रेरणाले पार्टी एकता भएको उनले बताए। उनले भने, ‘यो एकता कसैको दबाव र प्रभावमा परेको होइन । कुनै स्वदेशी विदेशी शक्तिको दबाव र प्रभावमा एकता भएको होइन् । पार्टीर्लाइ माया गर्ने कार्यकर्ता सहयोगि शुभचिन्तकहरुको दबाव र प्रेरणाको प्रभाव । देशको वर्तमान अवस्थाले एकताको विन्दुमा पुग्नका लागि प्रेरित गरेको छ ।’
पार्टी एकतापछि देशले बलियो राष्ट्रवादी प्रजातन्त्रीक शक्ति र विकल्प प्राप्त गरेको उनले बताए। देश कठिन अवस्थाबाट जुधिरहेको अवस्थामा जनताले विकल्प खोजेको र विकल्प निर्माण गर्ने क्रममा पार्टी एक भएको उनले बताए। थापाले पार्टी एकतासँगै राजनीतिमा तेस्रो राजनीतिक र वैचारिक धारको उदय भएको बताए। अध्यक्ष थापाले कांग्रेस र कम्युनिष्टले बोकेको बिचार र मार्गचित्र त्रुटिपूर्ण रहेको बताए।
नेपाली समाजमा यी दुई पार्टीको बिचारले विभाजनको रेखा कोरेको आरोप उनले लगाए। अध्यक्ष थापाले भ्रष्टाचारका कारण देशको अवस्था कहालीलाग्दो रहेको बताए । उहाँले ब्रह्मलुटमा कांग्रेसको भूमिका रहेको पनि बताए। उनले भने, ‘यो ब्रह्मलुटको प्रमुख मतियारका रुपमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस छ ।’ देशमा रहेको संकटको सामना गर्न राप्रपा तयार रहेको र विश्वास गर्न उनले आग्रह गरे। उनले भ्रष्टाचारमा मुछिएकाहरुलाई कानूनको कट्घरामा उभ्याउने समेत बताए।