काठमाडौं, माघ २३ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बिहीबारको संसद बैठक अवरुद्ध गरेको छ ।
सरकारको प्रत्यक्ष निर्देशन र राजनीतिक प्रतिशोधका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा आफ्नो पार्टीका उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारमाथि भ्रष्टाचार मुद्दा दायर गरेको भन्दै संसद अवरुद्ध पारेको हो ।
प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै प्रतिपक्ष दल कांग्रेसका सांसदहरु उठेर विरोध जनाएका थिए ।
लगत्तै सभामुख अग्नि सापकोटाले कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाललाई बोल्न समय दिए ।
सभामुखले बोल्ने समय दिएपछि सचेतक भुसालले ललिता निवास जग्गा प्रकरणमा सरकारको लाचार छाया बनेर राजनीतिक प्रतिशोध, पूर्वाग्रह र विभेदकारी ढंगले अख्तियारले आफ्नो पार्टीका नेता गच्छदारलाई मुद्दा दायर गरेको भन्दै आपत्ति जनाइन् ।
कांग्रेस सचेतक भुसालले प्रधानमन्त्री सकारात्मक नभएसम्म मन्त्रिपरिषद्का कुनैपनि मन्त्रीको प्रस्ताव मुख्यसचिवमार्फत् क्याबिनेटमा जान नसक्ने भन्दै ‘प्रस्ताव अगाडि बढाउने मन्त्री दोषी हुने तर निर्णय नै गर्ने प्रधानमन्त्री किन दोषी नहुने ?’ भन्दै प्रश्न गरिन् ।
ललिता निवास जग्गा प्रकरणमा विभेदकारी ढंगबाट अख्तियारले दायर गरेको मुद्दा मान्य नहुने भुसालको चेतावनी थियो ।
सचेतक भुसालले बोलिसकेपछि पनि कांग्रेस सांसदहरुले विरोध जारी राखेपछि सभामुख सापकोटाले पटक–पटक सदनको काम–कारबाही अगाडि बढाउन सहयोगका लागि आग्रह गरे ।
सभामुखको आग्रहलाई बेवास्ता गर्दै कांग्रेसका सांसदहरुले विरोध जारी राखेपछि सभामुख सापकोटाले शुक्रबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरे ।