२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

विप्लवलाई राजनीतिक सहमतिमा आउन आग्रह

1113 Shares
Spread the love

काठमाडौं। विभिन्न राजनीतिक दलका नेता तथा नागरिक समाजका अगुवाहरुले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई वार्ताको माध्यमबाट सहमतिमा आउन आग्रह गरेका छन्।

नेपाल पत्रकार तथा लेखक समाज र धर्मसभा राष्ट्रिय मञ्चद्वारा शुक्रबार राजधानी काठमाडौंमा आयोजित ‘देशको वर्तमान परिस्थिति र भविष्य’ विषयक अन्तरक्रियामा नेकपा (माले)का महासचिव सिपी मैनालीले चन्द नेतृत्वको नेकपालाई मूल धारमा ल्याएर राजनीतिक समाधान खोज्नुपर्ने धारणा राखे।

महासचिव मैनालीले चन्दले शान्तिपूर्ण राजनीतिक गतिविधि गर्न छाडेर विद्रोहको बाटो अवलम्बन गर्नु गलत भएको धारणा राखे। उनले भने, ‘अब देशले द्वन्द्व सहन सक्दैन र यो कसैले पनि रुचाएको छैन। त्यसैले चन्द समूहले विद्रोहको बाटो त्याग्ने र सरकारले पनि वार्ताको माध्यमबाट समाधान निकालेर राष्ट्रिय एकता कायम गर्नुपर्छ।’

सीमाविद् डा शास्त्रदत्त पन्तले सरकारले ल्याउन लागेको सूचना प्रविधि विधेयकका कमीकमजोरीलाई सच्याउनुपर्ने माग गरे। नेपाल बौद्धिक मञ्चका अध्यक्ष डा केबी रोकाय र प्रेस काउन्सिलका पूर्वअध्यक्ष बोर्णबहादुर कार्कीले सरकारले इन्डो–प्यासिफिक रणनीति र एमसिसी सम्झौता गर्दा राष्ट्रिय हितलाई हेर्नुपर्ने कुरामा जोड दिए।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य तथा क्रान्तिकारी पत्रकार सङ्गठनका उपाध्यक्ष जन्मदेव जैसीले सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित नहुने गरी ऐन ल्याउनु पर्ने बताए।

वरिष्ठ पत्रकार प्रेम कैदी र नेपाल पत्रकार तथा लेखक समाजका अध्यक्ष गोरखबहादुर बिसीले नेपाली समाजको रुपान्तरणका लागि बुद्धिजीवी, नागरिक समाज, लेखक तथा पत्रकारहरुले सक्रिय भूमिका निर्वाह गर्न सक्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया