२०८३, ८ कार्तिक शनिबार
×

अमेरिकी नेतृ क्लिन्टन बेलायती विश्वविद्यालयको चान्सलर

1552 Shares

लण्डन, १८ पुस (रासस÷सिन्ह्वा)
सन् २०१६ मा अमेरिकामा राष्ट्रपति पदको उम्मेदवार रहनु भएकी हिलारी क्लिन्टन बेलायती विश्वविद्यालयको चान्सलरमा नियुक्त हुनुभएको छ ।
बेलायतको ‘क्विन्स युनिभर्सिटी बेलफास्ट’ले बिहीबार उहाँलाई नयाँ चान्सलरमा नियुक्त गरिएको घोषणा गरेको हो । सो विश्वविद्यालयले सन् २०१८ को अक्टोबरमा क्लिनटनलाई मानार्थ विद्यावारिधिको उपाधि पनि दिएको थियो ।

क्लिन्टन सो विश्वविद्यालयकी ११ औँ चान्सलर हुनुभएको हो भने पहिलो महिला चान्सलर हुनुभएको विश्वविद्यालयका अधिकारीहरुले जनाएका छन् ।संवैधानिक पद मानिने चान्सलरको रुपमा क्लिन्टनले मुख्य तीन ओटा भूमिका खेल्नु पर्ने विश्वविद्यालयले जनाएको छ । स्नातकोत्तर सभाको अध्यक्षता गर्ने, विश्वविद्यालयको दूतका रुप रहने र सल्लाहकारको भूमिका खेल्ने गरी मुख्य तीन भूमिका हुने अधिकारीहरुको भनाई छ ।

चान्सलरले विश्वविद्यालयको उच्च तहको व्यवस्थापनलाई मार्गदर्शन तथा परामर्श दिने प्रचलन रहेको छ । अहिले नियुक्त भएको चान्सलरको जिम्मेवारी उहाँको यही जनवरीदेखि सुरु भएर आगामी पाँच बर्षसम्म रहने विश्वविद्यालयले जनाएको छ ।क्लिनटन सन् २०१६ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा चुनावी प्रतिश्पर्धामा हुनुहुन्थ्यो । त्यसअघि उहाँ अमेरिकी विदेश मन्त्री पनि हुनुभएको थियो ।

प्रतिक्रिया